भक्तपुरमा ग्यास सिलिण्डर पड्कियो, एकको मृत्यु

भक्तपुरमा आज बिहान ग्यास सिलिण्डर पड्किएको छ । मध्यपुर थिमी ६, कुण्डोलस्थित आत्मारा खत्री र हरिशरण खत्रीको दुई घरमा बिजुजीको तार सर्ट भएपछि सिलिण्डर बिस्फोट भएको बताइएको छ । उक्त घटनामा एक जनाको मृत्यु र अर्का एक घाइते भएका छन् ।

त्यसपछि लागेको आगोबाट खत्रीको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि भक्तपुरबाट दुई वटा दमकल तत्काल पुगेको बताइन्छ । त्यस्तै नेपाली सेनाको इन्द्रबक्स गणबाट उप सेनानी सुनिल हेम्बाको कमान्डमा ३५ जना, भैरव वाहन गुल्मबाट सह सेनानी हरिदेव खड्काको कमान्डमा २५ जना, सशस्त्र प्रहरी बलको २२ नम्बर गण हेडक्वार्टरबाट इन्स्पेक्टर हिमाल थापाको कमान्डमा ३५ जना नेपाल प्रहरीबाट प्रहरी सहायक निरीक्षक जितेन्द्र पण्डितको कमाण्डमा ५० जनाले आगो केही बेरअघि नियन्त्रणमा लिएका हुन् । म्यादी प्रहरी र स्थानीय पनि उक्त कार्यमा सहभागी भएको बताइन्छ ।

आगलागीबाट आत्माराम खत्रीकी २७ वर्षकी छोरी अस्मिता खत्रीको निधन भएको छ । उनकै अर्कै छोरी १३ वर्षीया निस्मा खत्री घाइते भएकी छन् । उनको नजिकैको कोरियान अस्पतालमा उपचार भइरहेको छ । निधन भएकी अस्मिता मानसिक रुपमा कमजोर भएको बताइन्छ ।

आगलागीमा २ वटा कम्प्युटर, टेलिभिजन, लत्ताकपडा, सुनचाँदीलगायत २० लाख जतिको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

 

टिप्पणीहरू