घण्टी चिन्ह लिएका उम्मेदवारले थाले आमरण अनशन
रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ का उम्मेदवार अनसन बसेका छन् । उक्त पार्टीका डा. सचिन घिमिरे विभिन्न माग राखेर आमरण अनशन बसेको बताइन्छ । ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार घिमिरेले सात बुँदे माग राख्दै गोदावरी नगरपालिका १० टाखेलमा हिजो बेलुकीदेखि अनशन बसेका हुन् ।
उनले निवर्तमान संघीय सांसद् नवराज सिलवालले आफ्नो कार्यकालमा भएको आयव्यय सार्वजनिक गर्नुपर्ने, गोदावरी नगरले एक महिनाभित्रमा बाँदर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुपर्ने, टाखेल चौतारानजिक रहेको पिपलको रुखको हाँगा काटनुपर्नेलगायत माग राखेका छन् ।
चौघरेका दुई विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरिरहेको र उनीहरुलाई आर्थिक अभाव भएकाले स्थानीय सरकारले शैक्षिक खर्चको व्यवस्थापन गरिदिनुपर्ने उनको अर्को माग छ । त्यस्तै, गोदावरी नगरले महिला स्वयंसेविकामार्फत् किशोरीलाई बाँडेको आइरन चक्कीको स्वास्थ्य औचित्य पुष्टि गर्नुपर्ने उनले बताए ।
घिमिरेले आश्राङ गाउँका दुई बालबालिकाको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको लालनपालन र शैक्षिक व्यवस्थापन गरिदिन पनि माग गरेका छन् ।
टिप्पणीहरू