विदेशी भूमिमा बिलाउँदै नेपाली, स्वदेशका बस्तीमा पीडितको चित्कार
आफ्नो जन्मभूमि सबैलाई प्राणभन्दा प्यारो हुन्छ । देशको माया नलाग्ने र परदेशमा गएर जिन्दगी पूरै बिताउन चाहने सायदै कोही होलान् । घरपरिवारसँग जिउने चाहना हुँदाहुँदै पनि विदेशिनुपर्ने बाध्यता धेरै नेपालीलाई छ ।
बढ्दो उमेरसँगै व्यवहारिकतापनको बोझले थिच्दै जान्छ । वृद्ध हुँदै गएका आमाबुबाको हेरचाह र श्रीमती तथा छोराछोरी पाल्नैपर्ने हुन्छ । उनीहरुको आवश्यकता परिपूर्ति गर्नैपर्ने हुन्छ । जागिर खाऊँ भने पढाइ राम्रो हुँदैन । सानातिनो व्यापार गरौं भने लगानी गर्ने पैसा हुँदैन ।
लगानी गरे पनि कमाइ हुन्छ कि हुँदैन भन्ने डर अर्कोतिर छ । व्यापार व्यवसाय डुबेर चुर्लुम्मै पो हुने हो कि भनेर पनि नेपालीहरु वैदेशिक रोजगारीतिरै उन्मुख भएका छन् । बाबुआमा, श्रीमती र छोराछारीको मायाबाट टाढिँदै धुरुधुरु आँखाबाट बलिन्द्र आँशु झार्दै कमाउने आशमा निस्किन्छन् ।
केही वर्षपछि आउँछु भनेर उडेकामध्ये कतिपय अन्ततः बाकसमा फर्किएका छन् । झापाका एक युवाले रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेको छ महिनामै आत्महत्या गरेपछि उनको परिवारको बिचल्ली भएको छ ।
परिवारसहित काठमाडौंमा बस्दै आएका ३६ वर्षीय युनिक कालिकोटेले झुण्डिएर आत्महत्या गरेका हुन् । आफ्नो परिवारको सयौं सपना बोकेर दक्षिण कोरिया होमिएका उनी थेजन सिटीको एक फुड कम्पनीमा कार्यरत थिए । कम्पनीमै झुण्डिएर आत्महत्या गरेको खबर पाएपछि उनको परिवार भावविह्वल भएको छ । उनको परिवार अहिले छटपटाईरहेको छिमेकी रिता कालिकोटेले जानकारी दिइन् ।
आफ्नो सन्तान गुमाउँदाको सर्वाधिक पीडा बाबुआमालाई र त्यस्तै पीडा जीवनसाथी बाहेक अरु कसलाई हुन्छ होला ? युनिककी श्रीमतीले काखमा दुई महिनाको छोरा च्याप्दै ‘युनिक आउ न’ भन्दा देख्नेजति सबैको मन भक्कानिन्छ ।
आमासँगै रुँदै गरेको ती दुधे बालकको अवस्था हृदयविदारक छ । ती बालकले आफ्नो बुवाको मुखसमेत देख्न पाएनन् । ‘के थाहा अरुको देशमा न मारेर पो झुण्डायो कि’ आँखाभरी आँशु टिलबिल पार्दै छिमेकी उर्मिला कालिकोटेले भनिन् ।
उनी मात्र होइन्, दिनहुँ कतिपय नेपाली परदेशी भूमिबाट काठको बाकसमा फर्किरहेका छन् । कसैले छोरा गुमाएका छन् त कसैले बुवा अनि आमा । श्रीमतीको सिउँदोको सिन्दुर पुछिएको छ । सरकारले कहिले ती कलिला बालबालिका र बुढा बाबुआमाको चित्कार सुन्ने ?
टिप्पणीहरू