खर्च जुटाउने कसरी ? विदेश पुगे व्यापारी !

खर्च जुटाउने कसरी ? विदेश पुगे व्यापारी !

‘छैन’ भन्यो, पत्याउँदैनन् । घर खेत बेचेर दिने कुरा पनि भएन । यस्तो तनावमा परेपछि एक हुल ठेकेदार देश छाडेर हिँडेका छन्, थुप्रै व्यापारी र बैंकरले ह्वाट्सएप अकाउन्टसहित मोबाइल नम्बर फेरेका छन् ।

यसरी चुनावको तनावले पैसावालहरू तितरबितर भएका छन् । राजनीतिक दल र उम्मेदवारहरू व्यापारीको भरमा चुनाव लडिरहेका छन् । तर, आम्दानी नै खस्किएको बेला तिनले चन्दा दिउन् कहाँबाट ! देशभरका ठेकेदार (निर्माण व्यवसायी) को छाता संगठनका अध्यक्ष रवि सिंह आफूजस्तै एक हुल ठेकेदार बोकेर अहिले माल्दिभ्सको राजधानी मालेतिर छन् । कारण हो, चुनावमा चन्दा माग्ने उम्मेदवारले हैरान पार्नु । बहाना छ, निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय संस्था ‘इफाप्का’ को ४५ औँ सम्मेलन । यसचोटि अध्यक्ष हुने पालो नेपालको छ र त्यो मौका रविले पाउँदै छन् । खासमा चुनावकै मुखमा त्यो कार्यक्रमको सेड्युल बनाउने बठ्याइँ नेपालीतर्फबाटै भएको भनिन्छ ।

अघिपछि ठेक्का र ‘सेटिङ’ मिलाइदिने ती उम्मेदवारले चुनावको बेला चन्दाको आश गर्नु त ठीकै हो तर ठेकेदारलाई पनि बैंकले कसेको छ । त्यसमाथि जताततै स्काभेटर चलेका छन् । डिजेलको भाऊ लिटरको १ सय ७८ पुगेको छ । एक पटकमा पाँच वटाभन्दा बढी ठेक्का हाल्न पाइँदैन । त्यसमाथि अधिकांश ठेकेदार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् । ठेकेदारमाथि राज्यको व्यवहार यस्तो छ कि, ‘चोर–फटाहा’ सँग बरु राम्रोसँग बोलिन्छ, ठेकेदार भन्नासाथ मुख बिगार्ने गरिन्छ । यी पीडालाई मनभरि गुम्स्याएर अध्यक्ष रविको टोलीले कात्तिक २४ गते देश छाड्यो । उनीसँग निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङ्दोर्जी लामा, महासचिव रोशन दाहालसहित करिब २० जना गएका छन् । महासंघका कर्मचारीको टोलीचाहिँ अस्ति सोमबार त्यता गएको छ । मंसिर ३ गते उनीहरू काठमाडौंमा उत्रिने र भोलिपल्ट भोट हालेपछि मोबाइलका पुराना नम्बरहरू एक्टिभेट गर्ने मनस्थितिमा छन् ।

त्यस्तै, चन्द्र ढकाल, शेखर गोल्छा, पशुपति मुरारका, दीपक भट्टसहितका थुप्रै व्यवसायीले चुनावमा चन्दा माग्नेहरूबाट भाग्नका लागि मोबाइल नम्बर फेरेका छन् । पुरानो नम्बरमा चल्ने ह्वाट्सएप, इमो, भाइबर पनि डिएक्टिभ गरेर उनीहरू लाखपाखा लागे भनिएको छ ।
 

टिप्पणीहरू