चुनावअघि पुल बनेपछि मतदातालाई सहज

चुनावअघि पुल बनेपछि मतदातालाई सहज

अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि जुम्लाको हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।  गत असोजको बाढीले कनकासुन्दरी गाउँपालिका–४, हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो । तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले बताए ।

पुल नहुँदा पर्सि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न जान स्थानीयलाई निकै गाह्रो थियो । तर पुल बनेपछि कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने स्थानीयवासीलाई सहज हुने बताइएको छ ।

स्थानीय वडाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा एक हप्तामा तीनवटा काठको पुल निर्माण भएको हो । नेपाली सेनाको नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जनाको सैन्य टिमले मतदान केन्द्र जाने पुल बनाउन सहयोग गरेको हो ।

टिप्पणीहरू