घोडाघोडी नगरपालिकामा विप्लवको ताल्चा

घोडाघोडी नगरपालिकामा विप्लवको ताल्चा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीको घोडाघोडी नगरपालिकामा ताल्चा लगाएको छ ।  सरकारी आवासमा मादक पदार्थ सेवन गरी जनप्रतिनिधि र कर्मचारीहरुले फर्निचर र कम्प्युटर तोडफोडजस्ता अनैतिक क्रियाकलाप गरेको आरोप लगाउँदै नेकपा घोडाघोडी नगर कमिटीले तालाबन्दी गरेको बताइएको छ । 

पछिल्लो समय नगरपालिकामा नीतिगत भ्रष्टाचार मौलाएको कमिटीले बताएको छ । आज जारी विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिकाका जनप्रतिनिधिहरु समेतको संलग्नतामा नीतिगत भ्रष्ट्राचार मौलाइरहेको, जनप्रतिनिधिहरु जनताका समस्याप्रति उदासिनता प्रकट गर्ने, नगरपालिकाको बजेटमा ब्रह्मलुट मच्चाउनेजस्ता क्रियाकलाप शृङ्खलाबद्ध रुपमा भइरहेको छ ।’

त्यस्तै, ढुंगा, बालुवा बिना मापदण्ड उत्खनन्बाट गरिएको ओसारपसारलाई असुलीको माध्यम बनाइएको कमिटीको आरोप छ । नगरपालिकामा भ्रष्टाचार गर्ने काम जनप्रतिनिधिद्वारा भइरहेको बताउँदै कमिटीले सोको विरोधमा संघर्षका कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

टिप्पणीहरू