लगातार मोटरसाइकल चोर्ने एक जना पक्राउ

लगातार मोटरसाइकल चोर्ने एक जना पक्राउ

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केटको पार्किङबाट चोरी भएको यामाहा एफटु मोटरसाइकलसहित २८ वर्षीय भुपेन्द्रबहादुर बुढामगर पक्राउ परेका हुन् ।

ललितपुरको इमाडोल बस्दै आएका उनलाई अस्ति शुक्रबार समातिएको कार्यालयले जनाएको छ । पक्राउ परेपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रोयल इन्फिल्ड कम्पनीको क्लासिक ५० सिसीको मोटरसाइकल चोरेको बताएका हुन् ।

त्यस्तै, २२० सिसी र १५० सिसीको एक एक वटा पल्सर गरेर अन्य तीन वटा मोटरसाइकल पनि चोरेको खुल्न आएको छ ।  बुढामगरलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त, ठिमी पठाइएको छ । अन्य तीन थान मोटरसाइकलबारे प्रहरी वृत्त गौशाला आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।   उनको साथबाट सामसुङ कम्पनीको एक थान मोबाइल र १४ हजार रुपैँया बरामद भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू