खाडीको गर्मीमा नेपालीका आँशु बरर,मान्छे ओसार्नेलाई सम्झाउने को छ र !

तलव नपाएको गुनासो गर्दा भीसा रद्दको धम्की

खाडीको गर्मीमा नेपालीका आँशु बरर,मान्छे ओसार्नेलाई सम्झाउने को छ र !

बसुन्धारास्थित लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको  मेनपावर कम्पनीबाट सेक्युरिटी गार्डको रुपमा काम गर्न चार महिनाअघि युनाइटेड अरब इमिरेट्सको आबुधावी पुगेका गोर्खाका हुमनाथ सापकोटा (टिकाराम) को भीसा रद्द गर्ने धम्की दिइएको छ ।

गएदेखिकै पारिश्रमिक नपाएका सापकोटा नियमित ड्यूटीमा थिए तर,पनि बिना कारण उनलाई हिजो बुधवारदेखि कामबाट हटाएको पत्र थमाइएको छ । फराह कन्ट्र्याक्टृङ्ग जनरल ट्रान्सपोर्ट कम्पनीले बुधवार दिएको पत्रमा भीसा रद्दको प्रोसेस अगाडि बढाइने जानकारी गराइएको छ । यद्यपि,आफूले पाउनु पर्ने सम्पूर्ण पारिश्रमिक,जाँदा तिरेको लागत रकम र क्षतिपूर्ति नपाएसम्म सापकोटाले हस्ताक्षर गर्न मानिरहेका छैनन् । 

उक्त कम्पनीमा सयौं नेपाली लामो समयदेखि बिना पारिश्रमिक काम गरिरहेका छन् । यसै सिलसिलामा लामो समयदेखि खानाको रकमसमेत कम्पनीले नदिएको भन्दै क्याट्रिड्गले बिहान-बेलुकीको खाना समेत बन्द गरिदिएपछि नेपाली लगायतका कयौं श्रमिक भोकभोकै परिरहेको समाचार नेपालका मिडियामा प्रकाशित भएको थियो । उक्त समाचार उनै हुमनाथ सापकोटाले पठाएको आशंका गर्दै लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिसका सञ्चालक कमल काफ्ले समस्याग्रस्त कम्पनीको भिजिटमै रहेका बेला उनलाई त्यस्तो पत्र दिइएको हो । काफ्लेले नै कम्पनीलाई त्यस्तो पत्र दिन लगाएको आशंका गरिएको छ । त्यहाँ अन्य थुप्रै नेपालीले पारिश्रमिक नपाएसम्म काम नगर्ने भन्दै त्यसै बसिरहेका बेला काफ्लेले "छोरी कुटेर बुहारी तर्साउने" भनेझैँ हुमनाथमाथि एक्सन लिएर अरुलाई काम गर्न बाध्य पार्न खोजेको देखिन्छ । त्यहाँ काम गर्न अनिच्छुक सयौं कामदार रहेकाले लिंक इन्टरनेशनलका काफ्लेले हुमनाथमाथि एक्सन लिन खोजेका हुन् ।

दुई लाख साठी हजार रकम बुझाएर हुमनाथ चार महिनाअघि मात्र सेक्युरिटी गार्डका रुपमा काम गर्न गएका थिए । सापकोटासँगै एउटै लटमा २४ जना श्रमिक र ६ जना काम गर्न गएका थिए । त्यसरी जानेहरुमा कसै कसैले त ३ लाख बीस हजारसम्म बुझाएको गुनासो पीडितको छ । त्यहाँ पुगेदेखि नै समस्यामाथि समस्या उत्पन्न भइरहेको र उक्त जानकारी लिंक इन्टरनेशनलका सञ्चालक काफ्लेलाई गराउँदा उनले समस्या सामाधानका लागि पहल गर्नुको सट्टा उल्टो आफूलाई नचिनेको भए चिन्न र काम गर्ने मन नभए राजिनामा दिएर फर्कन धम्कीसमेत दिएको गुनासो यसअघि नै पीडितले गराइसकेका थिए ।

हुमनाथलाई कामबिहीन गर्नुका साथै बिना कारण भीसा रद्द गर्ने पत्र थमाइएपछि त्यहाँ कार्यरत श्रमिक आफूहरुलाई पठाउने लिंक इन्टरनेशनल प्लेसमेन्टप्रति रुष्ट बनेका छन् । उनीहरुले आफन्तजनलाई खबर गरी उक्त मेनपावरका विरुद्ध कारवाहीका लागि सम्वन्धित निकायमा उजुर गर्नसमेत आग्रह गरेको बताइएको छ ।

भारतको मुम्बई मुख्य कार्यालय रहेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस नामको मेनपावर कम्पनीले आफ्नो शाखा कार्यालयको हैसियतमा नेपालको लिंक इन्टरनेशनललाई प्रयोग गर्दै आएको प्रमाणित भएको छ । एउटै लोगो,एउटै नाम, उही काम रहेको लिंक इन्टरनेशनल प्लेसमेन्टले भारतीय कामदार र नेपाली कामदारबीच ठूलो भेदभाव गर्दै आएको छ । एउटै कम्पनीमा काम गर्दा भारतीयको सेवा-सुविधा र पारिश्रमिक भन्दा नेपाली श्रमिक त्यो सुविधाबाट वञ्चित छन् । नियमित पारिश्रमिक पाउनु त कता-कताको कुरा उल्टो विना कारण फिर्ता गर्न खोज्नुले मानवतस्करको मन कतिसम्म कठोर हुँदोरहेछ ? पुष्टि  भएको छ ।

लिंक इन्टरनेशनलको लेखापालसमेत रहेका दलालका पनि महादलाल प्रकाश पौडेलले हाल आवुधावीमा रहेका काफ्लेलाई उचालेर हुमनाथलाई फर्काउन खोजेको बताइएको छ । लिंक इन्टरनेशनल म्यानपावर कम्पनीमा दलालसँग डील गर्ने जिम्मेवारी लेखापाल पौडेलले लिएका छन् । 

टिप्पणीहरू