पाँच कक्षाका छात्राहरु किन हजुरबा समानका गुरुमाथि खनिए ?

पाँच कक्षाका छात्राहरु किन हजुरबा समानका गुरुमाथि खनिए ?

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-२ स्थित श्री बेथानचोक आधारभूत विद्यालयमा अध्ययनरत छात्रामाथि शिक्षकहरुले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । स्कुलका दुई शिक्षकमाथि विद्यार्थीहरुले यौन दुर्व्यवहार गरेको आरोप लगाएका हुन् । 

मंसिर १३ गते कक्षा पाँचदेखि आठसम्म अध्ययन गर्ने छात्राहरुले शिक्षकबाटै यौन दुर्व्यवहार भएको भन्दै प्रधानाध्यापक सीताराम लामालाई गुनासो गरेपछि घटना बाहिरिएको हो । तर,आरोपित शिक्षकलाई जोगाउन विद्यालयले घटना लुकाउन खोजेको पीडित विद्यार्थीहरुले आरोप लगाएका छन् ।  

प्रधानाध्यापक लामाले शिक्षकहरुबाट यौन दुर्व्यवहार नभएको दावी गर्दै भने,'आरोप लागेका सरहरुलाई मैले सोध्दा उहाँहरुले त्यस्तो गरेको छैन,पढाउने क्रममा उत्प्रेरणा जगाउनको लागि हाँसखेल मात्र गरेको हो भन्नुभएको छ ।' भोलिपल्ट विद्यार्थीहरुले अविभावक  बोलाएर स्कूल घेराउ गर्दै शिक्षक गणेश दाहाल र भरतबहादुर केसीमाथि यौन दुर्व्यवहारको आरोप लगाएको उनले बताए । 

त्यसपछि व्यवस्थापन समितिको बैठक बोलाएर आरोपित दुई शिक्षकलाई हाजिर नगराउने भनी पालिकामा पत्र पठाएको प्रधानाध्यापक लामाले जानकारी दिए । 'हामीले पनि घटना भर्खरै सुनेको हो । कारबाही गर्ने काम हाम्रो होइन,प्रहरीको हो । हामीलाई हाजिर नगराउनु भन्ने पत्रचाहिं आएको छ',पालिका शिक्षा शाखा अधिकृत पुष्पा राईले बताइन् ।

शिक्षक भरतले घटना सार्वजनिक हुनुअगावै शिक्षा विकास तथा समन्वय इकाईमा राजीनामा बुझाएको बताइएको छ । तर,उनले गलत नियतले छात्राहरुमाथि नराम्रो व्यवहार नगरेको दावी गरे । 'आरोप लगाउने विद्यार्थीहरु मेरो छोरी सरह हो । म शिक्षण पेशामा लागेको चालिस वर्ष भयो । आजसम्म कसैलाई त्यस्तो गरेको छैन । पढाउने क्रममा कतै छोइयो होला । तर, मेरो गल्ती केही छैन ।'

त्यसोभए किन हतारमा राजीनामा दिन जानुभयो त ? भन्ने प्रश्नमा उनले उमेरका कारण जागिर छोडेको बताए । 'बुढेसकाल लाग्यो, अगाडिदेखि नै छोड्ने योजना बनाएको थिएँ", उनले भने । अर्का आरोपित शिक्षक गणेश दाहालले पनि आफूले कुनै गल्ति नगरेको जिकिर गरे । 'म कक्षा एकमा मात्र पढाउने हो,कसरी त्यस्तो गर्न सक्छु ?', भने, 'दिनभर एक कक्षामा नै हुन्छु । मलाई किन र कसरी आरोप लगाए भगवान जानुन् । मैले पाप गरेको छैन ।'

तर,स्थानीयले घटना सामसुम पार्ने उद्धेश्यले भरतलाई राजीनामा दिन लगाईएको आरोप लगाएका छन् । यसबारे जिल्ला प्रहरी कार्यालयले भने अहिलेसम्म उजुरी दर्ता नभएको बताएको छ । आरोपित भरत सोही गाउँपालिका-२ का स्थानीय हुन् भने गणेश वडा नम्बर ३ का हुन् ।

टिप्पणीहरू