बेइजिङ पुगेको अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डलसँग राजधानी बाहिर वार्ता

बेइजिङ पुगेको अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डलसँग राजधानी बाहिर वार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको पछिल्लो वार्तापछि उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डलले बेइजिङको भ्रमण थालेको छ । 

अमेरिकी विदेश मन्त्रालयका अनुसार पूर्वी एशियाली र प्रशान्त मामिलासम्बन्धी सहायक विदेशमन्त्री ड्यानियल क्रिटेन ब्रिंक र राष्ट्रिय सुरक्षा परिषदमा चीन र ताइवानका लागि वरिष्ठ निर्देशक लौरा रोजेनबर्गर सम्मिलित टोली बेइजिङ पुगेको छ ।

टोलीले चीनपछि दक्षिण कोरिया र जापान भ्रमण गर्ने बताइएको छ । आगामी वर्षको प्रारम्भमा हुने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणको तयारीका निम्ति सहायक विदेशमन्त्रीको नेतृत्वमा पछिल्लो टोली राजधानी बेइजिङ पुगेको हो । 

गत महिना इण्डोनेसियाको बालीमा भएको जी २० शिखर सम्मेलनको साइडलाइनमा अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता भएको थियो । त्यसबखत ताइवान र उत्तर कोरियाको बारेमा ‘स्पष्ट वार्ता’ भएको अमेरिकी पक्षले बताएको थियो । चीन र अमेरिकाबीच उत्पन्न तनावपूर्ण सम्बन्धलाई ‘नयाँ शीतयुध्द’ मा फर्काउनबाट रोक्ने उध्देश्यले टोली बेइजिङ पुगेको अर्थ लगाइएको छ ।

यसैबीच टोलीले आज बिहान बेइजिङ नजिकैको लाङफाङमा चिनियाँ टोलीसँग भेटवार्ता गरेको छ । चीनको तर्फबाट उपविदेशमन्त्री सिय फेङ नेतृत्वको टोलीले वार्ता गरेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनपिनले जानकारी दिएका छन् ।

टिप्पणीहरू