छतको पानी पाइप लगाएर सडकमा झार्न पाईंदैन : नागार्जुन नगरपालिका
काठमाडौँको नागार्जुन नगरपालिकाले घरधनीहरुलाई आफ्नो घर र छतको पानी सडकमा नझार्न अनुरोध गर्दै अटेर गरेर कारवाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाको वडा नम्बर २ कार्यालयले उक्त चेतावनी दिएको हो । आज जारी सूचनमा स्थानीय घरधनीहरुलाई आफ्नो घरको छतको पानी पाइप लगाएर सडकमा झार्ने गरेकोतर्फ सचेत गराएको हो ।
घरको छतको पानी खुल्ला रुपमा पाइप लगाई सडकमा झार्दा सडकमा हिँडडुल गर्ने व्यक्ति तथा सवारी साधनलाई असर परेको नगरपालिकाको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले, आआफ्ना घरबाट निस्कने पानी जथाभावी सडकमा नछाड्न र आफ्नै कम्पाउण्डभित्र व्यवस्था गर्नुहुन अनुरोध छ ।’
वडाभित्र पानी, ढललगायतका पूर्वाधार जडान गर्ने प्रयोजनको निम्ति सडक खन्नपरेमा वडा कार्यालयको पूर्व स्वीकृति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । अटेर गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने वडाध्यक्ष थुमराज केसीले बताएका छन् ।
टिप्पणीहरू