हार्ने आफू,दोष पूर्व राष्ट्रपतिलाई

हार्ने आफू,दोष पूर्व राष्ट्रपतिलाई

पूर्व राष्ट्रपति डा.रामवरण यादवको परिवारले जनकपुरमा डेरा जमाइजमाइ आफूलाई चुनाव हराएको दोष नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले लगाएका छन् । 

रामवरणले समेत यसमा भूमिका खेलेको उनको आरोप छ । एक सय २४ मतले मात्रै नेकपा एमालेका सचिव रघुवीर महासेठसंग पराजय व्यहोर्नुपरेको पीडा महेन्द्रले सार्वजनिक रुपमै प्रथम पूर्व राष्ट्रपतिदेखि कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिसम्म पनि लगाइराखेका छन् । यो आरोप मधेश प्रदेशमा सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएको छ । गृहमन्त्री बालकृष्ण खाँणका दाहिने हात मानिने महेन्द्रलाई हराउन पूर्वगृहमन्त्री निधिसमेत अन्तर्घातमा संलग्न रहेको आरोपसहित महेन्द्रहरुले कांग्रेस केन्द्रीय कार्यालय,सानेपामा उजुरी दिने तयारी गरिरहेका छन् । महेन्द्रले विमलेन्द्रकै इशारामा उनीनिकट नेता, कार्यकर्ताहरुलाई हराउन भित्रभित्र लबिङ गरेको आरोप छ । धनुषा जिल्लामा महेन्द्र जित्ने विश्वास धेरै कांग्रेसीहरुले लिएका थिए । त्यसको एउटा कारणमा रघुवीर महासेठ र जुली महतो दम्पतीलाई पञ्चायतकालका हेमबहादुर मल्ल दम्पतीसंग जोडेर हेरिएको थियो । 

विमलेन्द्रजस्ता नेता धनुषाको क्षेत्र नम्बर ३ मा प्रत्यक्षमा चुनाव लड्नुभन्दा समानुपातिक उम्मेदवार बन्नुमा महेन्द्र र बालकृष्णहरुले चुनाव हराउलान् कि भन्ने भित्रभित्रै एक किसिमको डर कारण थियो । यतिमात्रै होइन विमलेन्द्रले शेरबहादुर देउवालाई चुनावभन्दा दुई महिना अगाडि नै जुली महासेठसंग आफूले खर्च व्यवस्थापनमा नसक्ने भएकाले समानुपातिकमै बस्न रुचि राखेको बताएका थिए । निधिहरुकाअनुसार जहिलेदेखि त्यो क्षेत्रमा जुली चुनाव लड्न आएकी छन्,त्यहीबेलादेखि त्यहाँ खर्चको मामिलामा आर्थिक वातावरण बिग्रिएको हो । अर्कोतिर मधेश प्रदेशको महाधिवेशनमा बालकृष्ण दम्पती जनकपुरमा डेरा जमाई बसेर विमलेन्द्रले रुचाएका प्रदेश सभापति उम्मेदवार रामसरोज यादवलाई हराउन अहम भूमिका खेलेको अर्को पक्षको बुझाइ छ । त्यो हार रामसरोजको नभई विमलेन्द्रको भएको उनका मान्छेहरुले बुझेका छन् । 

विमलेन्द्रका एक नातेदारले जनआस्थालाई बताएअनुसार चुनावको बेला विमलेन्द्रको पक्षका आफ्नै नेता,कार्यकर्ताले उनीसंग नजिक हुन या आसेपासे हुन बार्गेनिङ गर्ने,त्यो सफल नभएपछि विपक्षीको लबीमा जाने खतरा पनि औंल्याएका छन् । यसैलाई पुष्टि गर्न उनले भने,विमलेन्द्र निधि चुनाव हारेको अन्तर्घातकै कारणले हो । त्यसबाट जोगिन उनले यसपालि समानुपातिकमा गएर बुद्धिमानी गरेका छन् । उता, महेन्द्रको हारको विषयमा जनआस्थाले कांग्रेसका एक महिला केन्द्रीय सदस्यसंग बुझ्न खोज्दा महेन्द्रले प्रदेश कांग्रेसलाई ठेकेदार प्रथामा लान खोज्दा हार खानुपरेको बताइन् ।

उनकाअनुसार गत स्थानीय निर्वाचनमा महेन्द्रले धनुषा क्षेत्र नम्बर ५ को पालिकामा उम्मेदवार हुनेसंग रकम लिएको भन्ने आक्रोश पनि एउटा कारण हो । त्यति मात्र होइन प्रदेश र संघको चुनावमा दुवैमा रकमी कारोबार महेन्द्रले गरेका थिए । विमलेन्द्रकी भान्जी निनुकुमारी कर्णको नामलाई समानुपातिक लिष्टको प्राथमिकताको चौथोबाट पाँचौमा धकेलेर कांग्रेसमा कुनै योगदान नभएकी रकमले नेता खरिद गर्न माहिर संगिता मण्डललाई चौथोमा तान्ने काम पनि उनैले गरेको आरोप छ । यस्तै प्रदेशमा पनि यस्तै गतिविधि गरेको लाञ्छना लगाइएको छ । यी कमीकमजोरीलाई ननियाल्ने काम महेन्द्रले गरेको कतिपय कांग्रेसीहरुको भनाइ छ । 

पूर्व राष्ट्रपतिको पुख्यौली गाउँ सपहीमा कांग्रेसीहरुको बोलबाला हुँदाहुँदै पनि महेन्द्रले पाँच सय मत मात्र पाउनु र उनका प्रतिद्धन्द्धी एमालेका रघुवीर महासेठले ११ सय मत पाउनुलाई पूर्वराष्ट्रपतिको परिवारले अन्तर्घात गरेको महेन्द्रहरुको आरोप छ । उनि एकसय २४ मतले मात्र पराजित भएका थिए । यसैविषयमा कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानासंग सोध्दा उनले महेन्द्रलाई हराउन अन्तर्घात भएकै जवाफ फर्काए । तर,कसैको नाम लिन चाहेनन् ।

 

टिप्पणीहरू