डरलाग्दो दुर्घटनामा परेका भारतीय क्रिकेटरको स्वास्थ्य अवस्था स्थिर

डरलाग्दो दुर्घटनामा परेका भारतीय क्रिकेटरको स्वास्थ्य अवस्था स्थिर

आज बिहान कार दुर्घटनामा परेका भारतका स्टार क्रिकेटर ऋषभ पन्तको टाउकोमा गम्भीर चोट लागेको छ । उनको निधार दुई ठाँउमा काटिएको छ भने दाहिने घुँडाको लिगामेन्ट च्यातिएको बताइन्छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पन्तको दाहिने नाडी, खुट्टासहित ढाडमा घर्षणको चोट लागेको जनाएको छ । हाल उनको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइराखेको छ । बीसीसीआई ऋषभको परिवार र उनको उपचारमा खटिएका डाक्टरहरुसंग निरन्तर सम्पर्कमा छ ।

उनका लागि सबैभन्दा राम्रो चिकित्सक सुविधाको व्यवस्था गरिने बीसीसीआईको भनाइ छ । द इन्डियन एक्सप्रेसका अनुसार अहिले उनको अवस्था स्थिर छ । म्याक्स अस्पतालका सुपरिटेन्डेण्ट डा. आशिष याज्ञिकले ऋषभको शरीरको विभिन्न अंगमा चोटपटक लागेको बताए । 

उनले भने,‘अहिले उनी स्थिर छन् र चिन्ता लिनुपर्ने अवस्था छैन । प्रारम्भिक रुपमा हामीले कुनै गम्भीर चोटपटक फेला पारेनौं ।’ आज बिहान उत्तराखण्डको रुड्कीमा डिभाइडरमा ठोक्किँदा ऋषभ सवार कार दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते बनेका उनलाई रुड्की सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि म्याक्स अस्पतालमा सारिएको छ ।

टिप्पणीहरू