ओली झन् शक्तिशाली अझै प्रचण्ड कमजोर
नेपाली कांग्रेसको अहमताका कारण मुलुकको सत्ता राजनीतिले एकाएक १८० डिग्रीको फन्को मारेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै सिट पाएर पनि कांग्रेस पूर्णतः प्रतिपक्षमा बस्नुपरेको छ । उसले माओवादीसहितको गठबन्धन बनेपछि प्राप्त सबै राजनीतिक उपलब्धि गुमाएको छ भने यो गठबन्धन बन्दा राष्ट्रपति र राष्ट्रियसभा अध्यक्षबाहेक सबै उपलब्धि गुमाएको नेकपा एमालेलाई पुनः धेरै उपलब्धि पोल्टामै आएको छ । तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले पटक–पटक प्रतिनिधिसभा विघटन गरेका कारण बन्न पुगेको गठबन्धनको मर्मलाई कांग्रेसले स्थानीय तह र हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममै बेवास्ता गर्दै आएको थियो । कांग्रेसले कम्युनिष्टले झैँ इमान्दार भएर मतदान गरेको थिएन । त्यसको प्रष्ट रूप नयाँ सरकार गठन गर्ने बेलामा प्रकट भयो । जसरी हिजो ओलीको दम्भका कारण कांग्रेससहितको गठबन्धन बन्न पुगेको थियो, त्यसरी नै आज देउवाको दम्भका कारण फेरि एमाले र माओवादीसहितको सत्ता गठबन्धन बन्न पुगेको छ ।
सैद्धान्तिक दृष्टिले प्रचण्ड, माओवादी ः माओवादीको स्थापनाकालदेखिको सिद्धान्त र वर्गीय धरातललाई हेर्ने हो भने प्रचण्ड–माओवादीको तेस्रो इनिङसम्मको आगमन गज्जबको विचलन हो । उहाँको पार्टीको दस्तावेज हेर्दा र संसदीय राजनीतिमा आएपछिको राजनीतिक, व्यावहारिक अडान हेर्दा सिद्धान्तबाट च्युत भएको देखिन्छ । सिद्धान्त, वर्ग छोडेर, बिर्सेर जसरी पनि सत्ता र पद हत्याउनैपर्ने सोच रहको पाइन्छ । निर्णय, अडान, ट्याक्टिस हिजोको जस्तो देखिँदैन । प्रचण्ड–माओवादी विगतमा झैँ आफ्नो सैद्धान्तिक अडानमा अडिएको, जब्बर भएको पाइँदैन । प्रचण्डका निर्वाचन ताकाका अभिव्यक्ति सुन्दा, हेर्दा उहाँमा गम्भीर सैद्धान्तिक विचलन बढ्दै गएको देखिन्छ । यो कोणबाट हेर्दा हिजो कांग्रेससँग मिल्नु र आज एमालेसँगै मिलेर सरकारको नेतृत्व गर्नु सतप्रतिशत असैद्धान्तिक कदम हो । नागरिकलाई भुलभुलैयामा राख्ने काम मात्रै हो । कारण माओवादी ०६४ देखि ०७९ सालसम्म आइपुग्दा मरीच झैँ चाउरिँदै गएको छ । तथापि दार्शनिक हिसाबले हेर्दा यो माओवादी र उसको नेतृत्वको मात्रै दोष नभई लोकतान्त्रिक राजनीतिक खेलकै अवगुण हो । लोकतन्त्र जतिसुकै सुन्दर भए पनि यहाँ राजनीतिक जोडघटाउ वा संख्या नै प्रमुख हुने हुँदा माओवादी नेतृत्व पनि त्यही खेलको नियममा बाँधिन पुग्दा सिद्धान्त र वर्ग नै छाड्न विवश भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ महिनाभित्र राजतन्त्र पर्काउने खुलेआम प्रतिबद्धता जनाएको छ । कहिले दायाँ कहिले बाँया गर्ने प्रवृत्तिले माओवादीको जनविश्वास घटेको छ ।
राजनीतिक एजेण्डाका दृष्टिले प्रचण्ड, माओवादी : राजनीतिक एजेण्डाका दृष्टिकोणले भने माओवादीको नेतृत्वमा सरकार बन्नु स्वाभाविक हो । किनकि आजको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान माओवादीकै एजेण्डा हो । माओवादीले यही एजेण्डाका लागि जनयुद्ध लडेको थियो । जसको नीति उसैको नेतृृत्व भनेझैँ आफ्नै नीति, एजेण्डा कार्यान्वयनका लागि माओवादीले नै सरकारको नेतृत्व गर्न पाउनु न्यायसंगत कुरा हो । अर्काेतिर कांग्रेसले मुख्य–मुख्य पदको अडान नछाडेपछि दायाँबाट बायाँ मोडिनु अर्थात् बालुवाटारबाट बालकोट हान्निनु प्रचण्ड. माओवादीको राजनीतिक विवशता, चतु¥याइँ हो । आफूलाई कुनै पनि हालतमा सरकारको नेतृत्व सम्हाल्न नदिने पश्चिमा एम्बुसलाई प्रचण्डले छल्नुभएको हो चितवन छाडेर गोरखाबाट चुनाव लड्न गएझैँ ।
विगतमा माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओली, शेरबहादुर देउवासम्मलाई प्रधानमन्त्री बनाउनुभयो । त्यसैले प्रचण्डलाई किंगमेकर भनियो । तर यसपालिको किंगमेकर एमाले नेता केपी शर्मा ओली हो । खास गोल उहाँले नै हानेको हो । पाइला पाइलामा बदला लिने ओलीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेर विगतको कोर्स करेक्सन मात्र गर्नुभएको छैन, एमालेलाई रातारात धेरै राजनीतिक उपलब्धिहरू हासिल गराउनुभएको छ राष्ट्रपति, सभामुखदेखि प्रदेश प्रमुख, मुख्यमन्त्रीसहित विभिन्न पदहरू हात लाग्दैछन् । संवैधानिक आयोग लगायतका निकायमा अहिले पनि ओली सरकारको पालामा नियुक्ति पाएका मानिस छन् भने अब पनि राज्यको मेसिनरीलाई आफैँले सिधै चलाउन सक्ने शैली ओलीको छ । समग्रमा ओली झन् शक्तिशाली हुनुुभएको छ । किनकि सरकारको रिमोट कन्टोल उहाँमै रहेको छ ।
प्रचण्ड झन झन कमजोर
बाहिरबाट हेर्दा लाग्छ मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) कसरी कमजोर ? शक्तिशाली होइन र ? तर भित्रबाट हेर्दा प्रचण्ड ओलीको तुलनामा झन् कमजोर बन्नुभएको छ । विगतका दुईपटकको प्रधानमन्त्रीकाल जस्तो सहज छैन उहाँलाई । यसपटक उहाँले ओलीसहित सत्ता गठबन्धनका अन्य दललाई मनाएर काम गर्नुपर्नेछ । दायाँबायाँ भए ओलीले रिमोट तानिदिनुहुनेछ । सँगै सत्तामा रहेकाहरूले नै व्यवस्थाविरोधी कदम चाल्न सक्नेछन्, सरकारलाई समर्थन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ महिनाभित्र राजतन्त्र पर्काउने खुलेआम प्रतिबद्धता जनाएको छ । त्यसैले प्रचण्ड आफ्नो सरकार टिकाउन उहाँहरूविरुद्ध बोल्नै सक्नुहुन्न । कहिले दायाँ कहिले बाँया गर्ने प्रवृत्तिले माओवादीको जनविश्वास घटेको छ ।
अब फेरि पनि दायाँ बायाँ भएर शक्ति आर्जन गर्न गाह्रो छ । कांग्रेस, एमालेले फेरि पनि विश्वास गर्ने अवस्था रहँदैन । माओवादी अहिलेकै अवस्थाबाट बलियो बन्ने सम्भावना कम छ । दायाँ बायाँ घुमेर आफ्नो र परिवारको फाइदा लिनेबाहेक यसलाई ठूलो, बलियो बनाउने इच्छा भएका माओवादी नेता, कार्यकर्ता लगभग सकिएका छन् । भएकाहरूलाई केन्द्रीय नेतृत्वले बालमतलव दिँदैन । त्यसैले अब माओवादीका नेता, कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम बढ्नेछ । त्यस्तो अवस्थामा प्रचण्डको बार्गेनिङ पावर झन् घट्ने पक्काछ । त्यसैले प्रचण्डको यो कार्यकाल आफूलाई सुधारेर जनतामा चोखिने मात्रै हो ।
कम्युनिष्ट एकता जरुरी
मुलुकमा कांग्रेसभन्दा कम्युनिष्टको जनसमर्थन बढी रहेको कुरामा कुनै विवाद छैन । कांग्रेसले कम्युनिष्ट फुटेका कारण मात्रै फाइदा लिन पाएको हो । विगतमा कारण यही हो र अहिले पनि कम्युनिष्ट एक ठाउँ आउँदा उसको सम्पूर्ण राजनीतिक प्राप्ती गुमेको छ । भर्खरै सम्पन्न निर्वाचनमा कसैको बहुमत नआएपछि एमाले र माओवादीलाई यसको प्रत्यक्ष महसुस भयो कि आफूहरू नमिल्दा झन् बर्बाद हुनेरहेछ भनेर । त्यसैले त यो स्वार्थकै कारण आजको नयाँ सत्ता समीकरण बन्न पुग्यो । हो, अब पनि उनीहरू मिल्न जरुरी छ । यो सत्ता समीकरण अवश्य पनि पार्टी एकतामा परिणत हुनुपर्नेछ । एक किसिमले भन्ने हो भने तत्कालीन नेकपा फुटेकै छैनन्, त्यो त हकदैया नाघेर आएको अदालतको परमादेशले न फुटाएको हो !
टिप्पणीहरू