समाजवादीका अध्यक्षलाई गाली गरेपछि विवादमा तानिए मेयर,मागे माफी
मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहनप्रसाद तुम्बापो विवादमा तानिएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको अन्तरवार्तामा जथाभावी टिप्पणी गरेपछि उनी विवादित भएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै अध्यक्ष नेपाललाई जथाभावी गालीगलौज गरेका थिए । त्यस्तै, स्टाटसमा थ्रुपै अपशब्दको प्रयोगसमेत गरिएको छ । उनले लेखेका छन्,‘लोभी बाहुन, लाज सरम छैन,हारेर एकछिन सत्ताबाहिर बस्न नसक्ने टपरे,लाज पचेर यस्तो ढाँट बक्दैछ, साले लुच्चा ।’
राति ११ बजे गरिएको यस स्टाटसमा कमेण्ट गर्दै एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘शब्द भएन है मेयर साब !’ त्यस्तै, अर्कोले भनेका छन्,‘हैट कडै पो आयो त हजुर ।’ यता, मेयर तुम्बापोले भने यो विषयलाई नकारेका छन् । उनले आफू कहिले पनि राति ११ बजेसम्म जाग्राम नबस्ने दावा गरेका छन् ।
नेकपा एमालेबाट मेयरमा निर्वाचित उनले यसको यथार्थ बुझ्ने प्रयत्न गरिरहेको बताए । साथै, उनले सामाजिक सञ्जालमा स्टाटस लेखेर यसबारे स्पष्टीकरणसमेत दिएका छन् । आफ्नो फेसबुक अकाउण्ट अर्कैले प्रयोग गरेर नकारात्मक टिप्पणी गरिएको उनले जनाए । ‘मेरो फेसबुक अकाउण्ट मबाहेक अरु कसैले प्रयोग गरी कमरेड माधवकुमार नेपालको अन्तरवार्ताप्रति नकारात्मक टिप्पणी र शब्द प्रयोग गरी प्रेषित गरिएकोप्रति ध्यानाकर्षण भएको छ । यसमा मेरो संलग्नता नभएको जानकारी गराउँदछु’, उनले लेखेका छन् ।
साथै, उनले यसबाट पर्न गएको असरप्रति माफीसमेत मागेका छन् । उनले माफी माग्दै भनेका छन्,‘यसबाट उहाँ र अन्यमा पर्न गएको असरप्रति दुःख व्यक्त गर्दै क्षमा चाहन्छु ।’
टिप्पणीहरू