हाजिरी गर्ने, काम नगर्ने डाक्टर
मुलुकका दुर्गम भेगमा रहेका अस्पताल, स्वास्थ्य संस्था र विद्यालयका चिकित्सक, स्वास्थ्यकर्मी र शिक्षकहरु लामो समय बिदामा बस्ने रोगले स्थानीय पीडित छन् । कतिपयले मौखिक रुपमा बिदामा बस्ने तर व्यहारमा हाजिर गर्ने गरेको पाइएको छ । त्यस्तै रोग अहिले जाजरकोटको बारेकोट गाउँपालिकामा देखिएको छ ।
बारेकोट गाउँपालिकाको लिम्सास्थित स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत सन्तोष चपाई दुई दिनअघि हाजिरी गरेर बिदामा बसेपछि स्थानीय बिरामी मर्कामा परेका हुन् । तर अस्ति सोमबार लिम्साबाट बिदामा गएका भनिएका डाक्टर चपाईले हिजो र आजसमेत हाजिरी गरेको पाइएको बताइन्छ ।
‘उनको हाजिरी काटिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जनआस्थासँगको कुराकानीमा बताए । अनुगमनका क्रममा उक्त हाजिरी फेला परेको गिरीको भनाइ छ । यसबारे थप जानकारी लिन खोज्दा पालिकाका प्रमुख र उपप्रमुखको फोन सम्पर्क हुन सकेन भने चपाई सम्पर्कमा आउनै चाहेनन् । आज सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ । तर, चपाईले दुई दिन अगाडि नै आजको बिदामा समेत हाजिरी गरेको पाइएको हो ।
टिप्पणीहरू