'सवारी लाइसेन्स निलम्बन गर्ने व्यवस्था हटाइयोस्’

'सवारी लाइसेन्स निलम्बन गर्ने व्यवस्था हटाइयोस्’

यातायात व्यवसायीहरुले पाँच पटकभन्दा बढी गल्ती गर्ने चालकको सवारी लाइसेन्स छ महिनासम्म निलम्बन गरिने विद्यमान व्यवस्था हटाउन माग गरेका छन् । पुस १ गतेदेखि लागु भएको २०७६ सालदेखिको रेकर्ड हेरेर पाँच पटकभन्दा बढी गल्ती गर्ने चालकको सवारी चलाक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था खारेज गर्न व्यवसायीहरुले आग्रह गरेका छन् । 

सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डोलनाथ खनालले लाइसेन्स निलम्बनको व्यवस्था अन्यायपूर्ण र अव्यवहारिक भएको उल्लेख गरेका छन् । हिजो राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘सार्वजनिक यातायातमा चालक अभाव छ, बस खाली छ तर पाँच पटकभन्दा बढी गल्ती गर्दा हुने कारबाही र छ महिनाको निलम्बन कुनै पनि हालतमा उपयुक्त छैन ।’

चालक र सहचालकलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियमको पूर्ण पालनाले मात्रै दुर्घटना कम गर्न सकिने उल्लेख गरेका छन् । सडक र यातायातको प्रयोगमा चालक जिम्मेवार बन्नुपर्ने बताउँदै उनले भने, ‘नियममा बाँधिएर अनुशासित हुनैपर्छ ।’

यता महानगर यातायात प्रालिले विज्ञप्ति जारी गरेर लाइसेन्स खारेजसम्बन्धी व्यवस्थाको कार्यान्वयन तत्काल स्थगित गर्न माग गरेको छ । विज्ञप्तिमा १५ सयको जरिवाना र पाँच पटकभन्दा बढी कसुरमा छ महिनासम्म लाइसेन्स निलम्बन गर्ने व्यवस्थाले व्यवसायी र मजदुरलाई मर्का परेको उल्लेख छ ।

टिप्पणीहरू