भोलि शोक विदा,४५ दिनमा छानबिन सक्ने जिम्मा

सरकारले पोखरामा भएको विमान दुर्घटनाको कारण पहिचान गर्न पाँच सदस्यीय छानबिन तथा जाँच आयोग गठन गरेको छ । विमान दुर्घटनापछि आकस्मिक बसेको क्याबिनेट बैठकले पूर्व महानिर्देशक नगेन्द्र घिमिरेको संयोजकत्वमा विज्ञसहितको आयोग गठन गर्ने निर्णय गरेको हो ।

आयोगका अन्य सदस्यहरुमा हवाई विज्ञ (निवर्तमान सैनिक जर्नेल) दिपक बाँस्तोला,पूर्वक्याप्टेन सुनिल थापा र हवाई मर्मत क्षेत्रका इन्जिनियर एकराजजंग थापा छन् । त्यस्तै,आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुध्दिसागर लामिछाने रहेका छन् ।

आयोगलाई ४५ दिनको समयावधि तोकेर दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ । 

सरकारले हवाई दुर्घटना न्यूनीकरणका लागि आन्तरिक उडान भर्ने सबै वायुसेवा कम्पनीहरुलाई अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन पनि दिएको छ । त्यसको प्रभावकारी अनुगमनका लागि नागरिक उड्ड्यन प्राधिकरणलाई जिम्मेवारी तोकिएको छ ।  

क्याबिनेट बैठकले भोलि शोक बिदा दिने निर्णयसमेत गरेको छ । त्यस्तै, दुर्घटनाका बारेमा जानकारी लिन चाहाने मृतकका परिवार,आफन्त र अन्य सरोकारवालाहरुका लागि विश्वसनीय सूचनाको प्रवन्ध गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने,पार्थिव शरीर बुझ्न र आ-आफ्नो ठाउँमा लैजान चाहनेको सहजिकरणका लागि सरकारीस्तरबाट आवश्यक प्रवन्ध मिलाउने पनि क्याबिनेटको निर्णय छ ।

टिप्पणीहरू