२१ जनालाई भरिया बनाएर ५३ हजार युरो बिदेश लान खोज्दा..

२१ जनालाई भरिया बनाएर ५३ हजार युरो बिदेश लान खोज्दा..

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट २१ जना नेपाली यात्रु विदेशी मुद्रासहित समातिएका छन् । फ्लाई दुबईको एफजेड ५७४ उडानबाट गए राति दुबई हुँदै क्रोयसिया जान लागेका उनीहरुलाई प्रहरीले करिब ७३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित नियन्त्रणमा लिएको बताइएको छ ।

ती यात्रुलाई बसुन्धारास्थित जनशक्ति  म्यानपावरका सञ्चालक पदम विश्वकर्माले भरिया बनाएर ५३ हजार युरो उता पठाउन लागेको तथ्य खुलेको छ । यात्रुको सुरक्षा जाँच गर्ने क्रममा साथबाट खाममा युरो फेला परेको हो । उनीहरुसँगै सञ्चालक विश्वकर्मालाई विमानस्थलबाटै समातिएको प्रहरीको भनाइ छ ।

विश्वकर्माले ती यात्रुलाई दिएको खाममा २ हजार,२५ सय र कुनै खाममा ३ हजार युरो राखिएको थियो । क्रोयसियाको विमानस्थलमा लिन आउने व्यक्तिलाई खाम दिन भनिएकाले उनीहरुले खामभित्र विदेशी मुद्रा राखिएको बारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।

थप अनुसन्धानको निम्ति ती सबैलाई आज बिहान ५ बजे प्रहरीका विभिन्न वृत्तमा लगिएको छ । नौ जनालाई प्रहरी वृत्त मालीगाउँ,अर्का नौ जनालाई प्रहरी वृत्त बानेश्वर र चार जनालाई प्रहरी वृत्त गौशाला लगिएको छ । उनीहरुविरुध्द विदेशी विनिमय ऐनबमोजिम राजश्व अनुसन्धान विभागमार्फत् मुद्दा चलाउने तयारी छ ।

विश्वकर्माले प्रहरीसँग उताको कम्पनीले भीसावापतको कमिसन पठाएको बताए पनि कालो धनलाई सेतो बनाउन विदेश लैजान खोजेको अनुमान छ । २१ जनालाई रकम आफैँले उपलब्ध गराएको उनले स्वीकारेका छन् ।

टिप्पणीहरू