विदेश घुम्ने बहाना नबनोस् विमान दुर्घटना
धेरैले शत्रुलाई पनि यस्तो दुःख नपरोस् भनेर कामना गर्छन् । तर केही मान्छे विमान दुर्घटना हुँदा खुशी व्यक्त गर्दै एकअर्कासँग शुभकामना साटासाट गर्छन् । प्रसँग यति एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाको हो । दुर्घटनापछि सरकारले छानबिन गर्न परराष्ट्र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेसहितको समिति गठन गरेको छ । समितिमा भर्खरै पूर्व दुई तारे जर्नेलबाट अवकाशप्राप्त हेलिकप्टर पाइलट दिपक बाँस्तोला पनि रहेका छन् ।
केही वर्षदेखि नेपालमा हुने विमान दुर्घटनाको छानवीन समितिमा यिनै लामिछाने र उनका सहयोगीहरुको स्थायी प्रतिनिधित्व हुने गरेको छ । यी सदस्यहरु विमानको टेक्निकल र मेकानिकल ज्ञान भएका विज्ञ भने होइनन् । लामिछानेलाई रिपोर्टमा कानूनी भाषा घुसाउन वा कानूनको दफा केलाउन सक्ने खुबीबाहेक अर्थोक क्षमता नभएको मानिन्छ । उनी केस इन्भेस्टिगेसन गर्ने विज्ञ पनि होइनन् । हेलिकप्टर विज्ञलाई दुर्घटनाग्रस्त एटिआर जहाजको छानबिन गर्न दिनु आफैंमा अनौठो निर्णय भएको छ । उनी नेपाली सेनाबाट भर्खरै रिटायर्ड भएका १५ दिने दुई तारे जर्नेल हुन् ।
विमान विज्ञकै रुपमा काम गर्ने अन्य धेरै काविल जनशक्ति नेपालभित्रै छ । तर दुर्घटनाको वास्तविक कारणलाई तोडमोड गरेर दिवंगत पाइलटहरुको थाप्लामा दोष थोपर्न सहज होस् भन्ने दृष्टिकोणले लामिछाने र बाँस्तोलाहरुलाई नैं छानवीनको जिम्मेवारी दिइएको आरोप छ । छानबिनको लागि समय अपुग भएको भन्दै जहाज कम्पनीको निरीक्षण गर्न फ्रान्स जान बहानावाजी हुने सम्भावना पनि उत्तिकै छ ।
टिप्पणीहरू