जहाज दुर्घटनाको यौटा शव हरायो चाहिँ कता त !

जहाज दुर्घटनाको यौटा शव हरायो चाहिँ कता त !

माघ १ गते पोखरामा दुर्घटनाग्रस्त विमानमा ६८ जना यात्रु र चार जना चालक दलका सदस्य सवार थिए । हालसम्म ७१ जनाको शव फेला परेको खबर बाहिरिए पनि त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल महाराजगञ्जले भने अझै दुई जनाको शव फेला पार्नुपर्ने बताएको छ ।

अस्पतालको फरेन्सिक मेडिसिन विभागले यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये दुई जनाको शव फेला नपरेको भन्दै खोजतलासको निम्ति समन्वय गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीलाई पत्र लेखेको छ । माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परेकामध्ये अझै दुई जनाको शव नभेटिएकाले खोजतलास एवम् उध्दार कार्यलाई निरन्तरता दिन प्रशासनलाई विभागले लिखित अनुरोध गरेको हो । 

पोखरा महानगरपालिका–१५, नयाँ गाउँस्थित सेतीको खोंचमा यति एयरलाइन्सको एटीआर ७२–५०० कलसाइनवाला ९ एनएएनसी विमान दुर्घटनामा परेको थियो । ७२ जनामध्ये हालसम्म ४८ शव र दुई वटा शवका विभिन्न अंगका पोका फरेन्सिक मेडिसिन विभाग महाराजगञ्जमा ल्याइएको विभागले जानकारी दिएको छ ।

२२ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,मध्य पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम भएको र ती शव पहिचान गरी आफन्तलाई बुझाइसकिएको छ । दुई वटा पोकामा स-साना टुक्रा मात्र भएकाले त्यसलाई शव भन्न नमिल्ने फरेन्सिक मेडिसिन विभागको भनाइ छ । 

तर उध्दारमा खटिएका सुरक्षा अंग र यति एअरलाइन्सले दिएको पछिल्लो जानकारीमा ७१ वटा शव फेला परेको र एक जनाको अझै खोजी कार्य जारी रहेको उल्लेख छ ।

टिप्पणीहरू