आत्महत्यालाई बहादुरीको जलप लगाउन नखोजौं

आत्महत्यालाई बहादुरीको जलप लगाउन नखोजौं

वशिष्ठ ऋषिले सतद्रु नदीमा आत्महत्या (दाह?) गर्न हाम्फाले पनि त्यो सफल हुन सकेन । त्यसपछि इच्छाअनुसार प्राणत्याग सम्भव छैन भन्ने निश्कर्ष निकाले । अहिले यस्तै छ प्रेमप्रसाद आचार्य र मोहनप्रसादहरूलाई । वेदकालीन वशिष्ठ मर्न सकेनन्, सतद्रु नदीको वेगले जमिनमै ल्याएर पछा¥यो ।

प्रेमप्रसादलाई भने नेपालीले अगाध प्रेम ओइराएका ओइराएकै छन् जसले गर्दा उनको पार्थिव देह त्याग भए पनि हाम्रो समाजमा उनलाई जिउँदो बनाउने अभ्यास जारी छ र प्लेकार्ड बोकेर सडक गल्लीतिर नारा–जुलुस हुँदै छ– ‘प्रेमप्रसाद आचार्यलाई न्याय देऊ’ । घरपरिवार सन्तापले भरिएको बेला प्रेमप्रसादलाई अघि सारेर परिवारजनको समवेदना र शोकमाथि खेलवाड गर्न केही मान्छे अघि सरेका छन् । र, समाजका अन्य ऋणी, असामीहरूलाई आत्मदाहको निम्ति दुरुत्साहन गरिरहेका छन् । एक ढंगले वशिष्ठ ऋषि हिर्दोक हुन् तैपनि उनी त्याज्य नभएर बाँचेकै कारण धेरै अर्थमा मान्य छन् तर प्रेमप्रसादहरू मान्य भएर पनि त्याज्य हुन बाध्य छन् । किनभने प्रेमप्रसादलाई हतियार बनाउनेहरू २/४ जना धनाढ्य ठालु व्यापारीको पक्षमा अप्रत्यक्ष तवरले देखिएका छन । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने कति जना मझौला या साना व्यापारीले सरकारबाट कहिले, कुनै पनि राजश्वमा छुट पाएका होलान् ? 

कर्मकाण्डी शास्त्रअनुसार नश्वर देह त्याग्नु कायरता हो, स्वास्थ्य र सामाजिक शास्त्रअनुसार यो काम रोग हो, पीडा वा समस्याबाट सदाको लागि मुक्ति पाउने उपाय हो । नेपालमा आत्महत्या गर्नेहरूको प्रतिदिनको संख्या र कारण खोजौँ त ! कुनै न कुनै रूपमा सरकारलाई दोषी ठह¥याउन सकिन्छ । अहिले भन्ने गरिएको सिष्टम र कर्मचारीतन्त्रको शासनशैलीलाई धारेहात लगाउन सकिन्छ । साधुको भेषमा रहेका डाँका नेता र जुकाजस्तै मोटाएका तिनका कार्यकर्तालाई दोष दिन सकिन्छ । खुट्याउँदै जाने हो भने करिब–करिब ३ दर्जन मान्छे जो राजनीति, वित्त व्यापार र नीति निर्माणमा हावी छन् तिनलाई दोषी मान्न सकिन्छ । किनभने रोजगारी पाउन सकिएन, विदेश जानुप¥यो, ऋणको चर्को ब्याज तिर्नुपर्ने भयो जस्ता सयौं कारणको सूची तयार गर्न सकिन्छ ।

यी सबैमा असफलता हात लागेपछि हुने डिप्रेसन हो, डिप्रेसनले गर्दा निम्तिन सक्ने अन्तिम समस्या भनेको आत्महत्या (दाह?) हो । प्रेमप्रसाद त बितिसके । पीडित परिवारको घाउमा नुनचुक छरेर न्याय देऊ भन्नेहरूले अरु धेरै प्रेमप्रसादहरू थप्न खोजेका छन् । यसको उदाहरण मोहन न्यौपाने, सप्तरीका गरिब रामदेव मरिक हुन् । लाग्छ, एकादुई अर्बपतिलाई यतिखेर ऋणमोचन हुनु छ, ब्याज मिनाहा गर्नु छ । त्यसैले ‘प्रेमप्रसाद आचार्यलाई न्याय देऊ’को नाटक मञ्चन हुँदै छ । अभिलेख हेरौं झोले, ठेलागाडे, कुम्ले, फुटपाथे, कटघरे, गरिब किसान, मजदुर, साना व्यापारी, रुग्ण उद्योगी, उद्योग चल्न नसक्दा रोएर बसेका कुटिर, साना उद्यमीलाई सरकारले कति रकम छुट दिएको छ ? ऋण र ब्याजमा कति सहुलियत दिएको छ ? दिएको छैन । अहँ, पटक्कै छैन ।

करिब तीन ठूला व्यापारीलाई भने सरकारले बर्सेनि छुटको अफर दिन्छ । त्यो रकम अर्बाैं हुन्छ । सानातिना र मझौला व्यापारीलाई कर र ऋण अनि त्यसको ब्याज र स्याजको चुली लगाउँदै घाँटी कस्छ । अर्बपति भए पनि कर भने थोरै तिर्न सन्देश दिन्छ । सबैतिरको वित्तीय संस्थामा हालिमुहाली उनीहरूकै हुन्छ । र, तिनैलाई धनी बनाउने नीति प्रत्येक सरकारले लिने गर्छ । हामी सबै गरिबगुरुवा, साना व्यापारीले नजानिकनै वा जान्दाजान्दै पनि तिनैको पक्षपोषण गर्न प्रेमप्रसादको आत्मदाहलाई ‘ग्लोरिफाई’ गर्छौं । मानौं त्यो अचुक हतियार हो । र, भन्छौं ‘प्रेमप्रसादलाई न्याय देऊ’ । यो दुःखद छ ।

प्रेमप्रसादले ऋणमोचनको लागि जुन बाटो अख्तियार गरे त्यसले उनको परिवारमा मात्र होइन चिनेजानेका सबैमा पीडाबोध छ । तर सरकार वा राज्यलाई उनको आत्महत्याले कुनै असर पारेको छैन । पार्नेवाला पनि देखिन्न । किनभने शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाउने रवि लामिछाने गृहमन्त्री भएको देश हो यो । नौटंकीवाज, हत्यारा, अपराधी, छलि, चोर र डाँकाहरू सत्तामा छन्, रक्तपिपाशु र द्रव्यपिचाशहरू शासन सत्ता र नीति निर्माणको कर्ताकर्ता बनेका छन् । अहिले प्रेमप्रसादको ग्लोरिफाइमा मोहनप्रसाद न्यौपाने र सप्तरीका रामदेव मरिक (जसको चर्चा गर्न अहिलेसम्म आवश्यक ठानिएको छैन) थपिएका छन् । त्यसले झनै अन्याय थपिँदो छ । अन्याय गर्नेभन्दा सहने अपराधी मान्ने हो भने प्रेमप्रसादहरू झनै अपराधी ठहरिने घटना हो यो । किन करोडौं लिन सक्ने प्रेमप्रसादले लाखौं रूपैयाँमात्र थप ऋण काढेर भ्रष्ट नेता वा नीति निर्माताकाविरुद्ध आत्मघाती आक्रमण गर्न खोजेनन् ? किन सकेनन् ? बिहारको मुंगेरबाट १५ सय भारुमैं तमचा किनेर सुट गर्न सकेनन् ? जसरी शालिकराम पुडासैनीको घटना आत्महत्या ठहर भयो, यसमा पनि त्यसभन्दा बढ्ता केही हुने देखिन्न । किनभने आत्महत्याको दुरुत्साहन गर्नेहरू फेरि गृहमन्त्री बन्न खोज्दैछन् । र, हतियारवालालाई नै मार्नेहरूले सरकारलाई विश्वासको मत दिने छन् ।

एउटा अपराधीले निरपराधको पक्षमा बोल्ने, न्याय गर्ने सम्भावना पटक्कै छैन । त्यसैले पीडित परिवारको घाउमा नुनचुक छर्दै सडकमा तमाशा देखाउनुभन्दा भद्र वा अभद्र आन्दोलन गरौं । गरी खान नदिने नीति बनाउनेहरूलाई पाहा पक्रेर पछारेझैं पछारौं । सकिन्छ भने भनौं जनता मार्ने भ्रष्ट आर्थिक नीति नसच्याएसम्म कुनै पनि कर सरकारलाई कर नतिरौं । यस्तो आन्दोलनको अगुवाइ गरौं । अनि पो प्रेमप्रसादहरूलाई न्याय हुन्छ । प्लेकार्ड बोकेर सडकमा पलेँटी कसेर बस्दा तमाशा हुन्छ, टाइमपास हुन्छ । छोडौं यस्ता ट्यामपास हुने कामहरू ।
 

टिप्पणीहरू