साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालसँग भारत पराजित

साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालसँग भारत पराजित

नेपाल बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भारतलाई ३–१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालको जीतमा अञ्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरेका छन् । भारतकी अपूर्ण नार्जारीले पनि गोल गरिन् । नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो। खेलको २० औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, खेलको दोस्रो हाफमा नेपाल लयमा फर्कियो ।

खेलको ४८ औं मिनेटमा अञ्जलीले गोल गरेपछि नेपाल १–१ गोलको बराबरीमा फर्केको हो । खेलको ६९ औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन् ।त्यसपछि खेलको ८९ औं मिनेटमा अमिषा कार्कीले गरेको गोलले नेपाललाई ३–१ को जीत हात परेको हो । जीतसँगै नेपालले तीन खेलमा ६ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ ।

भारत तीन खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । भारतको पनि फाइनल पुग्ने सम्भावना कायम छ । तर, भारतले भुटान र बंगलादेशबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । बंगलादेश ४ अंक जोडेर तेस्रो स्थानमा छ भने भुटान अंकविहीन छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान गरेर चार राष्ट्रको सहभागिता छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
 

टिप्पणीहरू