आठ चिकित्सकद्वारा सामूहिक राजीनामा

आठ चिकित्सकद्वारा सामूहिक राजीनामा

सुनसरीको इनरुवा अस्पतालका चिकित्सकहरुले सामूहिक राजीनामा दिएका छन् । अस्पतालमा कार्यरत आठ चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्टले पटक पटक आफूहरुलाई गालीगलौज गरेको, मानसिक यातना दिएको आरोप लगाउँदै उनीहरुले आज अस्पताल व्यवस्थापन समितिसमक्ष राजीनामा पत्र बुझाएका हुन् । 

डा.महेशकुमार शाह, डा.रविकुमार यादव, डा.आशिष देव, डा. अभिनासकुमार सिंह, डा.श्रीया पंगेनी, डा. कृतिका हमाल, डा. दिपेन्द्र मेहता, डा.विरेन्द्र मण्डलले पत्रमा हस्ताक्षर गरेका छन् ।

‘हामीलाई पटक पटक गालीगलौज, धम्की दिई मानसिक यातना दिएको कुरा हामीले समय समयमा सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, नेपाल मेडिकल एशोसिएशनमा समेत जानकारी गराइसकेका छौं’, पत्रमा उल्लेख छ । 

ड्युटीमा रहेका मेडिकल असिस्टेण्टलाई सेवाग्राहीले हिजो दोस्रो पटक धम्क्याउँदा पनि सुपरिटेण्डेन्टले मौन धारणा गरेर उनीहरुको संरक्षण गरेको चिकित्सकहरुको आरोप छ । 

आफ्नै कार्यस्थलमा असुरक्षित महशुस भएकाले सामूहिक राजीनामा दिन बाध्य भएको उनीहरुले बताएका छन् । 

भनिएको छ, ‘जनमानसमा भ्रामक, अनावश्यक प्रचारबाजी भएको देख्दा हामी मानसिक तनावमा छौं र आफ्नै कार्यस्थलमा असुरक्षित महशुस भई आजै मिति २०७९–१०–२७ गतेबाट सामूहिक राजीनामा दिएको जानकारी गराउँदछौं ।’

 

टिप्पणीहरू