बालकलाई खुवाइने लिटो त हैन नि राजनीति
स–साना बालबालिकाको चपाउने र पचाउने क्षमता नहुँदा लिटो खुवाउनुपर्छ । दूधे बालबालिकाबाट बल्लबल्ल माथि उक्लेपछि लिटोमा पुगिने हो । वृद्धवृद्धा जसको दाँत छैन उनीहरू पनि लिटो, कमलो र जाउलो खान्छन् । बालबालिकाको हुर्काइ नै लिटोबाट हुन्छ । समाजमा कतिपय त्यस्ता मान्छे हुन्छन् जो उमेरले वयस्क भएर पनि लिटो बाहेक पचाउन सक्दैनन् । नेपाली राजनीतिमा पनि उमेर पुगेका असंख्य बालबालिका छन् । यद्यपि उनीहरूचाहिँ भातै खान्छन् ।
सबैभन्दा कान्छो दल, समूह र व्यक्ति रवि लामिछाने नै हुन् । उनी त्यस्ता पात्र, प्रवृत्ति र हर्कत गर्ने व्यक्ति हुन् जो राजनीतिमा पूराका पूर बालक देखिए । कार्यशैली, सोच, व्यवहार, विधि, तरिका, गतिविधि, प्रवृत्ति र छटपटाहटपूर्ण अस्थिरताले उनलाई पूरै बालक नै बनायो, बनाउँदैछ । राजनीतिलाई एउटा चटक, स्टन्ट, मजाक र हाहाहुहुको रमाइलो खेल सम्झे उनले । लहडमा पार्टी खोल्ने सोचे । हड्बडाहटमा पार्टीको नाम ‘स्वतन्त्र’ राखे । टिभीमा घोक्रो फुलाएर आफूलाई चोखो र खाँटी देखाउन यसकारण पनि प¥यो कि उनी जहाँ जान्थे त्यहीं पत्नी ल्याइहाल्थे । जहाँ जान्थे त्यहीं आर्थिक लाभ गरिहाल्थे । त्यो कुरा प्रमाणित भएकै छ । यसले त्यो छोप्नका लागि अनेकौं हड्बडाहटपूर्ण क्रिया गर्ने क्रममा यी सब गरेका रहेछन् भन्ने कुरा पुष्टि हुँदैछ । यसर्थ उनी नेपाली राजनीतिका सबैभन्दा कमजोर, कान्छा र दूधे उमेर भर्खर सकिएका त्यस्ता बालक हुन् जसलाई लिटो मात्र पच्न सक्दछ भन्ने प्रमाणित भयो । यसैले अब लामिछानेलाई कसले लिटो खुवाउने हो ? सत्ता, शासन, शान र मानलाई मात्र राजनीतिको अनिवार्य अस्त्र सम्झे । यसैले गृहमन्त्रीबाट बर्खास्त भएपछि उनको बालपन, केटोकटीपन र कटमेरोपना फेरि उदाङ्गो भएको छ ।
निर्वाचन परिणामले नेपालको संसदीय अंकगणितलाई भ्यागुताको धार्नी बनाउने ठाउँमा पु¥यायो । च्याँखे, खुद्रे र यस्तै बालकहरूको झुण्ड तयार गरी सरकार निर्माण गर्नुपर्ने बाध्यकारी अवस्थामा लग्यो । पूरै पाँचै वर्ष यस्तै अनाडी, बालक, गैरजिम्मेवार, अराजनीतिक, राप्रपाजस्ता प्रतिगामीहरूलाई ‘हजुर–हजुर’ भनेर सरकार बनाउनुपर्ने देखियो । बालक, हुर्दुङ्गा र प्रतिगामीहरूबाट लोकतन्त्रवादी, सचेत र संघर्षपूर्ण जीवन भएका नेपालीले राजनीतिकै बारेमा अर्ती सुन्नुपर्ने अवस्था छ । योभन्दा दुःखलाग्दो र टिठलाग्दो परिस्थिति के होला ? राजनीति मुलुक निर्माण गर्ने विचार, दर्शन र मूल सिद्धान्त हो, हुनुपर्छ । रविले यसलाई एउटा अर्काे नयाँ पेशाको ‘बिजनेश’ सम्झे । चुनावमा उनको चटक बिक्यो पनि । उनको चटकपूर्ण हर्कत गृहमन्त्री भएपछि झनझन बढ्यो । सर्वाेच्चबाट पद बर्खास्तीमा परेपछि पनि उनी त्यही चटक गर्दैछन् ।
नागरिकता बालकले लिने, पाइने र मनलागी गर्ने केटाकेटीको चिर्कटो होइन, थिएन । देश सानो, ठूलो, धनी, गरीब जेजस्तो भएपनि उसको लागि नागरिकताको विषय पेचिलो हुन्छ । व्यक्ति पद वा हैसियतमा जतिसुकै ठूला वा चर्चामा भए पनि कानुनभन्दा माथि कोही हुँदैन र छैन भन्ने कुरा सर्वाेच्चको फैसलाले फेरि प्रमाणित गरिदियो ।
राजनीति भनेको नीतिको पनि नीति हो । राजनीतिका माध्यमबाट राज्य संचालन हुने हो । राजनीति दर्शन र मान्यता हो । यही दर्शन र मान्यतालाई वैचारिक, सांगठानिक, दार्शनिकतामा ढाल्दै विचार, कार्यक्रम, संगठन र दृष्टिकोणको माध्यमबाट गरिने संगठित तथा सचेत अभियान र आन्दोलन हो । तर रविले यो पक्षलाई पूरै अनदेखा गर्दै आफूलाई ‘स्वतन्त्र’ देखाउन खोजे । दलीय प्रजातन्त्रमा स्वतन्त्र भन्ने हुँदैन ।
राजनीतिमा विचारको, संगठनको, दृष्टिकोणको तथा कार्यक्रमको दलीय पक्षधरता हुन्छ, हुनुपर्छ । लामिछाने यही आधारभूत मान्यता र मूल्यमा शुरुमै चुके । उनलाई राजनीति गर्न, देशको उन्नति, प्रगति र समृद्धिमा सहयोगी बन्नको लागि दल र पार्टी खोल्न कसैले रोक्ने थिएन । आफ्नो खास पहिचान ढाँटेर दल बनाउनु पर्ने अवस्था दलीय प्रजातन्त्रमा हुँदैन । स्वेच्छाले अमेरिकी भएका रविलाई नेपाली नागरिक बन्न पनि कसैले रोक्ने थिएन । त्यसरी आफूलाई लुकाएर नेपाली बन्नुपर्ने अवस्था नै होइन । स्वतन्त्रको ‘पाइजामा’ लगाएर आफूलाई ढाँट्नुपर्ने पनि थिएन । दलीय प्रजातन्त्रमा कसैले आफूलाई पूर्ण स्वतन्त्र हुँ भन्छ भने कि राजनीतिक चेतना र विचारशून्य मान्छे हो कि ढँटुवा, मतलबी र लिटोवाला बालक हो ।
राजनीतिक संगठनको मूल आधार भनेको वैचारिकता हो । विचारधारा, दर्शन, दृष्टिकोण, संगठन, राजनीतिक मूल्यको सहारा नलिई कुनैपनि पार्टी अगाडि बढाउन खोज्नु भनेको अराजक, आक्रोशित र उद्दण्ड भीड जम्मा गर्नु मात्र हुन्छ । रविले त्यही गरे । क्षणिक केही मान्छेले हुइँया गर्न र ताली खानको लागि संघर्षपूर्ण इतिहास भएका ठूला दल र गणतन्त्रको विरोध गर्नु भनेको तत्कालीन उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमले माइतीघरमा संविधान जलाएर त्यही नारामा पार्टी बनाएजस्तै हो । उपेन्द्रले पनि त्यतिबेला संसदमा ५२ सिट जिते । जुन पछि बिलायो । राजाराजा भन्दै कमल थापाको दलले २५ सिट जितेको थियो । अहिले उनी खरानीमुनि छन् । अर्काे पटक लिङ्देन माटोमुनि पुग्छन् । राजनीतिका यस्ता चटके बालकहरू आउँछन्, जान्छन् ।
मुलुकको आमूल परिवर्तन र संघर्षबाट खारिएका राजनीतिक पार्टी लोकतन्त्रका खम्बा हुन् । त्यस्तो पिलर आफै संगठित हुन अत्यावश्यक हुन्छ । चुनावमा भोट बढी आउनु र आधारभूत जनताको तहमा संगठन हुनुमा ठूलो अन्तर छ । संगठन नभई जनताले दलको अपनत्व लिने कुरा पनि हुन्न । लोकतन्त्र र परिवर्तनप्रेमी नेपालीलाई चटकसटक होइन, काम र परिणाम चाहिएको हो । गृहमन्त्री हुनेबित्तिकै पासपोर्टको दुःख हटाउने भन्दै चटक गरे । त्यसले नागरिकको दुःख झन बढ्यो । पाइलैपिच्छे करै कर बुझाएर हैरान भएका नागरिकले सवारी लाइसेन्स लिन वर्षाैँ धाउनुपर्ने अवस्था छ । शासन सत्तामा चाहिँ लामिछाने र लामिछानेको बालक प्रवृत्ति हावी छ । प्रश्नचाहिँ अहिले पनि उमेरले परिपक्व भएका लामिछानेलाई लिटो कसले खुवाउने भन्नेमै घुमिरहेको छ ।
टिप्पणीहरू