आन्दोलनकारीहरु सिंहदरबारमा, सडकमा सार्वजनिक यातायात ठप्प

सरकारले आन्दोलनरत यातायात व्यवसायी र मजदुरहरुलाई वार्ताको निम्ति बोलाएको  छ । उनीहरुलाई सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ताको निम्ति बोलाइएको बताइएको छ ।

विभिन्न माग राखेर आन्दोलन थालेका यातायात व्यवसायी र मजदुरुहरुका कारण आज सार्वजनिक यातायात बन्द छन् । राजधानीका सडकमा बिहानैदेखि सार्वजनिक यातायातको साधन गुडेका छैनन् ।

हिजो साँझ यातायात मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि बालाजुमा प्रहरीको दुई वटा सवारी साधन र एउट प्रहरी बिटमा आगो लगाइएको थियो । सोही घटनापछि आज बिहान मन्त्रालयमा आन्दोलनकारीहरुलाई साढे ८ बजे वार्ताको निम्ति बोलाइएको हो ।

मजदुर र व्यवसायीहरुले ट्राफिक प्रहरीले वृद्धि गरेको चर्को जरिवाना रकमविरुद्ध असन्तुष्टि जनाउँदै आएका थिए । छ पटकसम्म चिट काटिएको लाइसेन्स छ महिनासम्म निलम्बन हुने र पहिलो पटकको गल्तिमा १५ सय रुपैयाँ जरिवाना तिनुपर्ने ट्राफि नियमको उनीहरुले प्रतिवाद गर्दै आएका छन् ।

टिप्पणीहरू