प्रधानमन्त्री भारत जानै लाग्दा

प्रधानमन्त्री भारत जानै लाग्दा

रातको साढे आठ बजेपछि सिंहदरबारमा चलहपहल शुरु हुन्छ, सचिवहरु बैठकमा जुट्छन् । के बिहान, के राति– सीमाका सन्दर्भ चलेका चल्यै छन् । आखिर किन ? 

किनभने, अब राष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । त्यसको तयारीका निम्ति गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयतिर चटारो शुरु भइसकेको छ । ती मन्त्रालयका सचिवहरुबीच २२ गतेआइतबार अबेर राति प्रधानमन्त्री र मुख्यसचिवको रोहबरमा सीमासम्बन्धी छलफल तीव्र भएको छ ।

नापी विभागसँग सीमाबारे सोधिएको प्रश्नमा दुई देशको संयन्त्रका रुपमा रहेको बोर्डर बाउन्ड्री वर्किङ गु्रप (बिडब्ल्युजी) बाट काम शुरु गर्नुपर्ने भनिएको छ । उसले त्यसबारे प्रधानमन्त्रीस्तरमा गरिने छलफलमा दुई प्रस्ताव तय गरेको छ, एउटा हो सीमावर्ती जनताको सुरक्षासँग सम्बन्धित विषय र अर्को सीमा अद्यावधिक । यदि राष्ट्रपतिको चुनाव फागुन २५ मा हुँदै थिएन भने प्रधानमन्त्री दोस्रो साता नै भारत जानुहुने थियो । तर, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तोकिसकेर त्यसअघि छिमेकी राष्ट्र जाँदा अर्कै अर्थ लाग्ने कारण त्यसपछि जाने हुनुभएको परराष्ट्रस्रोतले जनाएको छ । 

अहिले नेपाल र भारतबीचको ठूलो समस्या सुस्ता र कालापानी हो । त्यसबाहेक प्रत्येक जिल्लामा कतै न कतै सीमा समस्या छ । ९ जिल्लामा सीमास्तम्भसँगै भारतीय सुरक्षा बल एसएसबीका मुकाम खडा गरिएका छन् । त्यसलाई व्यवस्थापन गरौँ भनिँदा भारतपक्षबाट ‘हुन्छ–हुन्छ’ भन्ने, तर नगर्ने मनस्थिति रहेको पाइन्छ । त्यसबारे गृहसचि वा नापीस्तरमा बिडब्ल्युजीको बैठकबाट हल हुन सक्छ । कालापानी र सुस्ताको सवाललाई भने राजनीतिक तवरबाट समाधान गरेर तलको टिमलाई म्याण्डेट दिऔँ भन्ने हुनसक्छ । ओली सरकारले चुच्चे नक्सा निकालेपछि बिडल्युजीको बैठक बसेको छैन । जबकि, त्यसलाई सुचारु नगरी कुनै पनि सीमा समस्या हल हुने अवस्था छैन । 
 

टिप्पणीहरू