अध्यक्षलाई ‘हजुरबा’ सम्बोधन गर्ने एमाले नेता राजा फर्काउने अभियानमा
नेकपा एमालेमाथि लाग्ने गरेको ‘परिवर्तन विरोधी’ आरोपलाई बल पुग्नेगरी त्यस पार्टीका एकजना केन्द्रीय नेता राजा फर्काउने अभियानमा होमिएका छन् । अध्यक्ष केपी शर्मा ओलीलाई खुशी तुल्याएवापत पार्टी प्रवेश गरेको केही महिनामै एमाले केन्द्रीय सदस्यमा उक्लिएका झापाका दुर्गा प्रसाईं उर्फ ‘मार्सी’ राजा फर्काउन कस्सिएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यहरूलाई एउटै मञ्चमा राखेर हिजो गृहजिल्ला झापाबाट ‘धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को उद्घाटन गराएर उनले अभियानको औपचारिक शुरुआत गरेका छन् । मेची पुल नजिकै आयोजित विशेष कार्यक्रममा पूर्वराजा शाहद्वारा दीप बालेर महाअभियानको उद्घाटन गराइएको हो । कार्यक्रममा पूर्वराजासहित उनका छोरा पूर्वयुवराज पारस र छोरी प्रेरणालगायत उपस्थित थिए ।
संविधानको अक्षर र भावनाविपरित आफ्ना केन्द्रीय सदस्य राजतन्त्रको पक्षमा खुलेर लाग्दासमेत एमाले भने यसमा मौन देखिएको छ । राजनीतिका स–साना घटनाक्रममा पनि तत्काल प्रतिक्रिया जनाउने महासचिव शंकर पोखरेल, सचिव योगेश भट्टराईलगायत नेताहरुले यसबारे अहिलेसम्म मुख खोलेका छैनन् ।
अध्यक्ष ओलीलाई ‘हजुरबा’ भनेर बोलाउने मार्सी विवादास्पद मेडिकल व्यवसायीसमेत हुन् । उनी मेडिकल माफियाको रुपमासमेत चिनिएका छन् । सत्तारुढ दलको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका उनी संविधानविपरित राजतन्त्रको पक्षमा खुलेआम सडकमा ओर्लिंदा पनि चुईंक्क नबोलेपछि संविधानप्रति एमालेको प्रतिबद्धतामाथि प्रश्न उठेको भन्न थालिएको छ ।
एमालेका कतिपय शीर्ष नेतामाथि पछिल्लो राजनीतिक परिवर्तन स्वीकार गर्न नसकेको आरोप यदाकदा लाग्ने गरेको छ । केपी ओली प्रधानमन्त्री हुँदा दुई पटकसम्म प्रतिनिधिसभा भंग गरेको घटनालाई प्रतिगमन भनेका माओवादी केन्द्र, नेपाली काँग्रेस, एकीकृत समाजवादीलगायतका दलले एमालेलाई परिवर्तन विरोधी शक्तिका रुपमा अथ्र्याएका छन् ।
टिप्पणीहरू