बालाजुमा उपद्रव मच्चाउने थप २३ जना प्रहरी नियन्त्रणमा
गत सोेमबार काठमाडौंको बालाजु–माछापोखरी क्षेत्रमा भएको गुण्डागर्दी र लुटपाटमा संलग्न भएको आरोपमा थप २३ जना पक्राउ परेका छन् । यातायात मजदुरसम्बद्ध संघसंगठनले गरेको आन्दोलनमा प्रहरी पोष्ट र गाडी तोडफोडसँगै आगलागी गरेको आरोपमा उनीहरु प्रहरी हिरासतमा पुगेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौंका गणेशकुमार श्रेष्ठ, विक्रम नेपाली, आकाश भुजेल, सुमन श्रेष्ठ, सुमन लामा, विजय मगर, रन्जितकुमार तामाङ, संगिता खड्गी छन् । त्यस्तै, रवि तामाङ, प्रकाश क्षेत्री, ईलाराज गुरूङ, ईन्द्र तामाङ, माधव शाही, राजन रावत हरिशरण तामाङ, सुजन मगर, रोमन नगरकोटी, सुनिल कालिकोटे, सुदिप तामाङ, विकाश गुरूङ, सविधान परियार, केशर राई र कविन खड्गीलाई पनि प्रहरीले पक्रेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवम् प्रवक्ता सोमेन्द्र सिंह राठौरले जिल्ला प्रहरी परिसर, टेकु र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताए ।
पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ को दफा २८५ बमोजिम अपराधिक उपद्रव गर्न नहुने कसूरसम्बन्धी मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू