चीन जाने विद्यार्थीलाई हवाई भाडामा उल्लेख्य छुट

चीन जाने विद्यार्थीलाई हवाई भाडामा उल्लेख्य छुट

उच्च शिक्षा अध्ययनमा चीन जाने पाकिस्तानी विद्यार्थीहरुको हवाई भाडामा थप कटौती गर्ने घोषणा गरिएको छ । 

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) ले स्नातकोत्तर तह अध्ययनका लागि छिमेकी मुलुक चीन जाने स्थानीय विद्यार्थीको हवाई भाडामा २७ प्रतिशतसम्म छुट दिन लागेको जनाइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार पाकिस्तानी राजधानी इस्लामाबाददेखि चीनको राजधानी बेइजिङसम्मको हवाई टिकट मूल्य हाल दुई लाख ७२ हजार पाकिस्तानी रुपैयाँ (एक हजार ४४ अमेरिकी डलर) कायम छ । 

पीआईएको आधिकारिक हेल्पलाइनका ग्राहक सेवा अधिकारीकाअनुसार विद्यार्थीहरुले उक्त तोकिएको शुल्कमा अबदेखि २७ प्रतिशत छुट पाउनेछन् । यसबाट चीनमा अध्ययनको निम्ति जाने पाकिस्तानी विद्यार्थीहरुलाई निकै सहयोग पुग्ने अपेक्षा पाकिस्तानी अधिकारीहरुको छ । 

हाल पीआईएले बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्ट र छन्तु सुआङलिउ इन्टरनेसनल एयरपोर्टमा नियमित उडान गर्दै आएको छ । गत डिसेम्बरमा पीआईएले अध्ययनार्थ चीन जाने विद्यार्थीलाई हवाई भाडामा २२ प्रतिशत छुट दिने निर्णय गरेको थियो ।

टिप्पणीहरू