कोचिङ्ग पढेर घर फर्केका १३ वर्षीय बालकलाई गाडीले हानेर ठहरै
पर्सामा गाडीको ठक्करबाट १३ वर्षीय बालकको ज्यान गएको छ । ठोरी गाउँपालिका-४ विजयबस्तीका १३ वर्षीय विश्वास श्रेष्ठलाई आज बिहान साढे ८ बजे कोचिङ्ग पढी घर फर्किने क्रममा गाडीले ठक्कर दिँदा उनको निधन भएको हो ।
गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारार्थ तराई अस्पताल वीरगञ्ज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता तथा सूचना अधिकारी दिपक गिरीका अनुसार बागमती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको गाडीले आज बिहान ठक्कर दिएको हो । लगत्तै अस्पताल लगिएकोमा बिहान करिब १० बजे उनको मृत्यु भएको प्रवक्ता गिरीले बताए ।
त्यस्तै, दुर्घटनापश्चात् फरार भएका गाडी चालक चितवनका २५ वर्षीय पदम बिलाम पन्तलाई पनि प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
टिप्पणीहरू