प्रधानमन्त्री र काँग्रेस सभापतिबीच बालुवाटारमा भेटवार्ता शुरु

प्रधानमन्त्री र काँग्रेस सभापतिबीच बालुवाटारमा भेटवार्ता शुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ । उहाँहरुबीच भर्खरै कुराकानी शुरु भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालसँग काँग्रेस सभापति देउवाले बालुवाटारमा गर्नुभएको कुराकानीमा उपसभापति पूर्णबहादुर खड्का, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा पनि सहभागी छन् ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल र काँग्रेस सभापति देउवा दुबै जना आज बिहानदैखि आफ्नो निवासमा राजनीतिक भेटघाट र छलफलमा व्यस्त भएपछि अहिले साँझ बालुवाटारमा कुराकानी भएको हो ।

राष्ट्रपति निर्वाचनको निम्ति राष्ट्रिय सहमतिका साथ उम्मेदवार चयन गर्ने विषय थप पेचिलो बनेपछि उहाँहरु भेटघाटमा जुट्नुभएको हाे । आज मात्रै प्रधानमन्त्री दाहालले बिहानदेखि चिनियाँ राजदूत, एमाले अध्यक्षलगायतसँग भेटवार्ता गर्नुभएको छ । 

उता, देउवाले पनि बिहान लोसपाका नेताहरु, दिउँसो जसपाका अध्यक्ष उपेन्द्र यादव र साँझमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल गर्नुभएको हो । त्यसअघि अध्यक्ष नेपालसँग एकीकृत समाजवादीको कार्यालयमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भेट गर्नुभएको थियो ।

चिनियाँ राजदूत छन सोङले आजै अध्यक्ष नेपालसँग उहाँको निवासमा शिष्टाचार भेट गरेपछि बालुवाटारमा भइरहेको प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवाबीचको भेटवार्ताले राजनीतिक वृत्तमा कौतुहलता थपेको बताइन्छ ।

टिप्पणीहरू