पौने करोड हुण्डीको रकमसहित भारतीय पक्राउ
हुण्डी कारोबारमा संलग्न एक भारतीय झण्डै पौने करोड रुपैयाँसहित पक्राउ परेका छन् । भारतको हिमाञ्चल प्रदेश सिमलथाना घर भई हाल कुलेश्वरमा फलफूल पसल चलाइरहेका ४९ वर्षीय कुमार गुप्ता हुण्डी गर्न जम्मा पारेको ५७ लाख नगद र १४ लाखको चेकसहित आज पक्राउ परेका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा कुलेश्वरबाट उक्त रकमसहित गुप्तालाई समातेर जिल्ला प्रहरी परिसर टेकुलाई बुझाएको छ । उनको साथबाट प्रहरीले उक्त नगद, तीन वटा छुट्टाछुट्टै चेक र एउटा आइफोन पनि बरामद गरेको छ ।
फलफूल व्यवसायीको आवरणमा नेपालमा बसेर हुण्डी कारोबार गर्दै आएका गुप्ता यसअघि २०७५ साउन ७ गते पनि दुई लाख भारतीय रुपैयाँ र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परेका थिए । त्यतिबेला उनलाई राजस्व छलीसम्बन्धी कसूरमा राजस्व अनुसन्धान विभागले छानबिन गरेको थियो ।
यसपटक उनीमाथि नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कारबाहीका लागि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
टिप्पणीहरू