दुबईको आशा देखाउँदै लाखौँ हात पारेका दलवीर समातिए
दुबईमा आकर्षक जागिरको लोभ देखाएर सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुकुमको सानीभेरी गाउँपालिका–२ घर भई हाल काठमाडौँको सामाखुशी बस्दै आएका ३१ वर्षीय दलवीर विक ठगी आरोपमा समातिएका हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आज दिउँसो उनलाई सामाखुशीबाट नियन्त्रणमा लिएको बताइएको छ । वैदेशिक रोजगारीका लागि मासिक ६० हजार तलब हुने गरी सेक्युरिटी गार्डमा काम लगाइदिने भन्दै विकले पीडितसँग छ लाख रुपैयाँ लिएर फरार भएको जाहेरी परेपछि प्रहरीले उनको खोजी गरेको थियो ।
विकलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू