व्यक्ति हत्याका आरोपित एमाले सांसद कोइरीको मतदाता नम्बर निर्वाचन आयोगको वेबसाइटमा

व्यक्ति हत्याका आरोपित एमाले सांसद कोइरीको मतदाता नम्बर निर्वाचन आयोगको वेबसाइटमा

ज्यान मुद्दामा प्रहरीको फरार सूचीमा रहेका प्रतिनिधिसभाका संसद लक्ष्मी महतो कोइरीको नाम राष्ट्रपति निर्वाचनको मतदाता नामावलीमा समावेश गरिएको छ । 

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतदाता नामावलीको सूचीमा १३०१९७२४ मतदाता नम्बर रहेका कोइरीको परिचयपत्रसमेत निर्वाचन आयोगले आफ्नो वेबसाईटमा अध्यावधिक गरेको छ । क्रम संख्या २४७ रहेको कोइरीको परिचयपत्र विवरण र फोटोसहित सार्वजनिक गरिएको छ । उनी अहिलेसम्म निलम्बनमा नपरेको हुनाले नाम सार्वजनिक गरिएको निर्वाचन आयोगको जनाएको छ ।

कर्तव्य ज्यान मुद्दामा अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा चुनाव जितेका र हाल फरार रहेका कोइरी यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सभामुखलाई भोट हाल्न संसद बैठकमा उपस्थित भएका थिए । तर, संसदमा उनको उपस्थितिलाई लिएर केही सांसदहरुले प्रश्न उठाएपछि गृहमन्त्रालयले विज्ञप्ति निकालेर पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको थियो । त्यसपछि उनी फरार भएका हुन् । 

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ । यस मुद्दामा उच्च अदालत जनकपुरले २०७७ सालमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । 

तर, अभियोग बोकेरै जसपा परित्याग गरी एमाले प्रवेश गरेका कोइरी महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

 

टिप्पणीहरू