बिहारी जोगीहरूको फण्डैफण्डा नेपालीलाई डण्डा !

बिहारी जोगीहरूको फण्डैफण्डा नेपालीलाई डण्डा !

काठमाडौं शहरमा साउनका किरासरी भारतीय जोगीहरूको मगन्ते समूह र झुण्डैझुण्ड देखिन्छ । शिवरात्रिको नाममा हजारौं भारतीय बिहारी जोगीहरू काठमाडौं आए । सबैजसोले काठमाडौंमा तमासा देखाए, ठगे । धेरैले अहिले पनि ठग्दैछन् । 

शिवरात्रिमा आउने जोगीहरू प्रायः भारत फर्कने भए पनि दैनिक नेपालका विभिन्न शहर, जिल्ला र मूलतः काठमाडौं उपत्यकामा ओइरिने फुर्सा खरानीधारी जोगीहरूले अनेकौं अन्टसन्ट बकमफुस्से बकवास गर्दै ‘ऐसा होगा, तैसा होगा’ भन्दै शहरबजारमा लुट्ने गरेका छन्, ठग्दैछन् । भिक्षा माग्न नदिने भन्ने संविधान कानुनको प्रबन्धलाई कडाइका साथ लागू नगर्दा नेपालका शहरबस्तीहरू बिहारी ठग जोगीहरूको लागि ‘लैनो गाई’ जस्तो भएको छ । 

यस पटकको शिवरात्रिमा जोगीहरूले वितण्डा नै मच्चाए । राशनभेटीको बहानामा नेपालको प्रहरी प्रशासनलाई मात्र होइन राजनीतिक व्यवस्था र प्रणालीलाई ‘भारतले देखाइदिने’ भन्दै धम्कीपूर्ण भाषाको प्रयोग गरे । 

शहरमा दैनिकजसो जोगीहरूको ताँतीले पसल, व्यापार तथा सपिङ मलहरूमा चहार्दै गुण्डाले हप्ता उठाए झैँ उठाउने गरेको देखिन्छ । कतिपय अवस्थामा फुस्रा जोगीहरूले स्थानीय बस्तीका घरमा रहेका महिलाहरू समेतलाई विभिन्न डरत्रास, धम्की र धार्मिक अन्धविश्वासको भ्रम छर्दै हजारौं असुल्ने गरेका घटना निरन्तर आइरहेका छन् । 

‘बेटा मुक्तिनाथ जाना है, टिकटको भाडा देदो, हम तुम्हारे बेटाबेटीको अच्छा भाकल पूरा करेगें’ जस्ता वाहियात कथा बुनेर ठग्ने गरेका छन् । कतिपयले आफू भारतको फलानो काशी बनारसको मन्दिरको ‘बाबा’ भएको र आफूले दिएको ‘बुटी’ले चमत्कार हुने भन्दै ठूलो राशी असुल्न ४ आनाको ढुङ्गा बेच्ने गरेका छन् । यस्ता जोगीहरूले अनेक प्रकारका फण्डाबाजी गर्ने गरेका छन् । 

यता आफ्ना नेपाली दाजुभाईहरूलाई भने राजधानी शहरमा बस्नटिक्न नदिने नीतिका साथ महानगरले घोक्रेठ्याक, भाटा र डण्डा बर्साउने गरेको छ । पेटीमा बसेर मास्क बिक्री गर्ने झोले व्यापारी र शहरिया मजदूरहरूलाई लौरैलौराले ड्याम्मड्याम्ती ठोकेको दृष्य काठमाडौंमा सामान्य बन्न थालेका छन् । 

विदेशीहरु भने आफ्नो मुलुकमा भन्दा पनि सुरक्षित र सानसँग पेशा–व्यापार गर्दै आएका छन् । उनीहरुलाई दिएको जति पनि सुविधा आफ्ना नेपाली दाजुभाइलाई किन दिन सक्दैन सरकार ? मजदूर, साना पेशाकर्मी र स्थानीयलाई आतंकित गर्ने नगर पुलिसले दैनिक हजारौंको संख्यामा शहरबजारमा जताततै फोहोर गर्ने फुटपाथे विदेशी व्यापारीहरूलाई चाहिँ नियन्त्रण एवम् निगमन गर्न किन सक्दैन ? कसको दबाबले त्यो गर्न नसकेको हो ?

सन् १९५० मा भएको नेपाल–भारत शान्ति तथा मैत्री सन्धिमा व्यवस्था गरिएका नेपालको राष्ट्रियता, स्वतन्त्रता एवम् स्वाधीनता विरोधी प्रावधान आदिका कारण समेत भारतीय जोगी, भोगी, ठग, अपराधी, अपहरणकारी, हत्यारा, कन्ट्याककिलर (सुपारीवाला), राजश्वमारा देखि अनेक प्रकारका भारतीय गठहरूको जगजगी शहरबजारमा बढ्दै गएको छ । १ अरब ३५ करोडभन्दा बढी जनसंख्या भएको भारतबाट निर्वाध रूपमा भारतीयलाई विनारोकतोक भित्रन दिँदा नेपाली समाज, शहर, बस्ती तथा पूरै समाज तहसनहस हुँदै जान थालेको छ । 

अर्काे खतराको कुरा त त्यस्ता भारतीय जोगी, भोगी, अपराधी र अनेकौं खालका मान्छेले नेपालका तराईका विभिन्न जिल्लामा नेपाली नागरिकता भटाभट लिने गरेका समाचारले पनि देखाएको छ । नागरिकता भएपछि अनेकौं वैध–अवैध पेशा गर्नेदेखि तराईमा हुलदंगा र हिंसा गर्दै राजनीतिमा प्रवेश गर्न सजिलो भएको छ । यसबीचमा केही भारतीय मन्त्री नै बने । यसरी भारतीय जोगी, भोगी र अपराधीहरूको निम्ति नेपालको जुनसुकै स्थान सहज हुने तर आफ्ना नेपाली दाजुभाईहरू भने ५० डिग्रीको मध्यपूर्वको गर्मीमा गएर रगतपसिना बेचेर नेपालमा रेमिट्यान्स पठाउँदैछन् । 

प्रजातन्त्र आउने वित्तिकै ४० लाख भारतीयलाई नेपाली नागरिकता दिइयो । भारतको बिहारमा ‘यहाँ नेपालके नागरिकताके फारम भरते हेँ’ भनेर खुल्लमखुल्ला नागरिकताको फारम बिक्री गर्ने र भर्ने गरेका समाचार पटक–पटक आएका छन् । यसरी भारतका बिहार, उत्तरप्रदेशलगायत राज्यबाट नेपालका शहर र जिल्लामा दैनिक अनेकौं बहानामा मान्छेहरू नेपाल छिर्दा नेपालको आन्तरिक सुरक्षा, स्वतन्त्रता, सार्वभौमता, समाजिक सदभाव, सामाजिक नैतिकता तथा अपराधका अनेकौं गतिविधि ह्वात्तै बढेका छन् ।

शिवरात्रिको बहानामा पशुपतिको मन्दिरमा सित्तैंमा गाँजा, भाँग, धतुरो, खाना र पानी, धुनीदेखि भेटी पनि मिल्ने भएपछि हजारौं जोगी नेपाल आउने गरेका हुन् । तीमध्ये एक चौथाई पनि भारत फर्कँदैनन् । अर्थात शिवरात्रिका जोगी नेपालका शहर बजारमा घुमेर आफ्नो गठीधन्दा चलाइरहन्छन् । झोलामा एकमुठ्ठी ढुङ्गा, बुटी नामका केही धागाका गाँठा, केही अक्षतापाती बोकी अन्धधार्मिक, सोझा र छिट्टै विस्वास गर्ने नेपाली गृहिणी, व्यावसायीदेखि अनेक पेशाका मानिसलाई ठग्ने गरेका छन् । भारतीय जोगीको ठगीधन्दा चौतर्फी भएपनि कोही आफू ठगिएको लाजले र कोही अन्धविश्वासमा परेको कारण चुपचाप बस्ने गरेकाले थोरै मात्र घटना प्रहरीमा वा सार्वजनिक सूचनामा आएका छन् । 

हालै मात्र काठमाडौंको न्यूरोडमा नेपाली सेनाका एक जना मेजर जोगीले ‘हम अघोरी बाबा है, हमारा बुटी रखलो, तुमको अमेरिकी भिषा लगेगा’ भन्दै ४ हजार ठगिए । त्यतिमात्र होइन उसले आफू मुक्तिनाथ जान लागेको र त्यहाँ फूलपाती चढाएपछि ‘छोरा’ (बेटा) जन्मने भन्दै प्लेन टिकटको निम्ति पुनः छ हजार ठग्न भ्यायो । केही घण्टापछि मेजरको साथीभाइ र स्थानीयले जोगीलाई खोज्दा जोगी त्यहाँबाट भागिसकेको थियो । पहिले जोगीले पैसा हातमा मात्र राख्न लगाएर सो पैसा उसैलाई फिर्ता दिने शर्तमा अक्षेतापाती गरेको पीडितको भनाइ छ । 

यस्ता ठग जोगीहरू दैनिक नयाँ रूप, भेष, रङ तथा पहिरनमा शहरमा घुम्ने गरेका देखिन्छन् । कहिले कालाकाला, लामालामा टीका लगाउने, कहिले राताराता टीका लगाउने, कहिले जामा कहिले धोती आदिमा घुम्दै अनेकौं बहानामा ठग्ने गरेका छन् । सानानिता ‘अलोक बम, जय भोले, जय श्रीराम, ओम नम शिवाय, हरिओम, जय पशुपतिनाथ, जयदेव, जय महादेव’ जस्ता शब्द उच्चारण गर्दै भिक्षा, दान र नगद माग गर्दै शहर देखि काँठका गाउँ सम्म पुग्ने जोगीहरूको संख्या हजारौं हजार पुग्ने आकलन गरिएको छ । 

यसरी भारतका बिहार, उत्तरप्रदेशलगायत अन्य विभिन्न राज्यबाट नेपालमा आएर अनेकौैं रुप, आवरण र नारामा ठग्ने जोगीहरूले नेपालीहरूको आतिथ्यको सोच, मानवलाई सम्मान गर्ने, धार्मिक भावना, परोपकारी एवम् मानवीय हृदयमाथि खेल्दै जोगीहरूले ठग्ने गरेका हुन् । आफैंले आफ्नो नाम लेख्न नसक्ने अनपढ जोगीहरू वाइहात अन्टसन्ट बेतुके हवाईगफ गरेको भरमा पढेका, धनी र शहरीयालाईसमेत सजिलै आफ्नो जालमा पार्दैछन् भन्ने ज्वलन्त उदाहरण काठमाडौंको न्यूरोडमा नेपाली सेनाका मेजरलाई ठगेकोबाट प्रष्ट हुन्छ । 

भारतीय जोगीहरू अनेकौं फण्डा गर्दै ठग्दै ढुक्कसँग बस्न पाउने राजधानी शहरमा आफ्नै देशका नागरिकले भने मकै पोलेर बाँच्न पनि पाएका छैनन् । माक्र्स र पानी बेच्छु भन्न पनि पाएनन् । यही रफ्तारमा राज्यले विहारी जोगी भेषधारी ठगहरूलाई खुल्लेआम ठग्न दिने हो भने केही दशकमा नै काठमाडौं उपत्यका र ठूला शहरहरूमा भारतीय ठग र अपराधीहरूबाट नेपाली भाग्नु र तर्सनु पर्ने अवस्था प्रष्ट देखियो । यसमा राज्यले पूरै नियन्त्रण गर्नु आवश्यक छ । 

मजदुर, किसान र स्थानीयलाई डण्डा बर्साउने बालेनको डण्डा ठगी गर्दै हिड्ने जोगीहरूतर्फ चाहिँ सोझिने कहिले ? काठमाडौंको भद्रकालीमा सवारी साधन पूजा गर्न आउने सवारीलाई पार्किङ गर्न नदिने र मन्दिरमा वर्षाैंदेखि पूूजापाठ गर्दै जीवनयापन गरी आएका नेपाली पुरेतहरूलाई मन्दिरमा बस्न नदिने जस्तो गैरकानुनी, अमानवीय र अनैतिक कार्य गर्ने महानगरपालिकाले भारतीय जोगीका अनेकौं फण्डा तथा ठगी धन्दा चाहिँ कहिले देख्ला भन्ने प्रश्न सचेत नागरिकले गर्न थालेका छन् ।

टिप्पणीहरू