आमा मारेर भागेका कुपुत्र १२ घण्टापछि पक्राउ

आमा मारेर भागेका कुपुत्र १२ घण्टापछि पक्राउ

चितवनमा आमा मारेर फरार छोरा पक्राउ परेका छन् । गए राति ७८ वर्षकी आमालाई लाठी प्रहार गरेर भागेका ४० वर्षे छोरालाई प्रहरीले आज दिउँसो घर नजिकैबाट पक्रेको हो । पुरन घलेले हिजो राति आमा मिनाकुमारी घलेलाई आफ्नै घरको कोठामा लाठी प्रहार गरेका हुन् । टाउकोमा प्रहारपछि मिनाको तत्काल निधन भएको बताइन्छ ।     

चितवन भरतपुर महानगरपालिका ११ गणेशस्थानमा रहेको घरको कोठामा उनी बितेको खबरपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा टोली घटनास्थलमा पुगेको थियो । छोरा पुरन घलेले मादक पदार्थ सेवन गरेपछि भएको विवादमा आमाको ज्यान गएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अभियुक्त पुरनलाई आज दिउँसो साढे १२ बजे घर नजिकैको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारिएको हो । उनलाई नियन्त्रणमा लिएर चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू