कार्यकक्षमा पसेर वडाध्यक्षले कुटेको भन्दै इञ्जिनियरले प्रहरी गुहारे
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष रामबहादुर गुरुङ्गले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै असिस्टेण्ट सबइञ्जिनियर लक्ष्मण जिसीले प्रहरीमा उजुरी दिएका छन् ।
आफ्नो कार्यकक्षमा पसेर आज बिहान वडाध्यक्ष गुरुङ्गले गालीगलौज तथा कुटपिट गरेको भन्दै इञ्जिनियर जिसीले प्रहरी गुहारेका हुन् । आफ्नो इज्जतमा आँच आउने शब्दको प्रयोग गरी गालीगलौज गरेको उनको आरोप छ ।
वडाध्यक्षको कुटाइले टाउको, नाक, घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको जिसीले बताए । जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिँदै उनले वडाध्यक्षलाई कडा कारबाही गर्न माग गरेका छन् ।
वडाध्यक्ष गुरुङ्गले यसअघि पनि अपशब्दको प्रयोग गर्ने गरेको उनी बताउँछन् । यता, वडाध्यक्ष गुरुङ्गले भने आफूमाथि लागेको आरोपलाई नकारेका छन् । इञ्जिनियर जिसी सधैं ढिलो आउने र आज बिहान सोही विषयलाई लिएर प्रश्न गर्दा हेल्मेट निकालेपछि आफूले धकेलेको उनको दाबी छ ।
‘उहाँ जहिल्यै ढिलो आउनुहुन्छ । १० बजे आएको त दिनै छैन्, ११ बजेपछि मात्र कार्यालय छिर्ने हो । जसले गर्दा समयमा कहिले पनि काम सकिँदैन् । स्थानीयहरुको गुनासो एकदमै बढेको छ’,वडाध्यक्ष गुरुङले भने,‘हिजो एउटा कार्यक्रममा जानुपर्ने भएपछि म बाहिर थिए । मैले उहाँलाई फोन गरेर ल्याङको सामुदायिक होमस्टेको पूर्वाधार बनाउने स्टिमेट तयार गरिदिनु भनेको थिए । तर, उहाँ जानु नै भएको रहेनछ । स्थानीयले मलाईं नराम्ररी गाली गर्नुभयो । आज बिहान उहाँ १० बजेर ४६ मीनेटमा कार्यालय आउनुभएको थियो । मैले जहिले ढिलो भनेपछि उहाँले टाउकोबाट हेल्मेट निकाल्नुभयो । उहाँले हेल्मेट बोकेर चर्को स्वरमा कराउन थालेपछि मैले धकेलेको हुँ ।’
जिसीले स्टमेट तयार पार्दासमेत बढीबढी रकम उल्लेख गर्ने उनको भनाइ छ । उनको पारा देखेर सबै आजित भइसकेको वडाध्यक्ष गुरुङ्ग बताउँछन् ।
टिप्पणीहरू