आरएनएसीको विमान होइन, पाइलट नै ‘ग्राउण्डेड’

आरएनएसीको विमान होइन, पाइलट नै ‘ग्राउण्डेड’

नेपाल वायुसेवा निगमका दुई जना पाइलटलाई विमान उडाउनबाट रोक लगाइएको छ । विमान परिचारिका (एयर होस्टेस) माथि दुर्व्यवहार गरेको अभियोगमा ती पाइलटलाई ‘ग्राउण्डेड’ गरिएको हो ।

नेपाल नागरिक उड्ययन प्राधिकरण श्रोतका अनुसार ती पाइलटले गत साउन १२ गते काठमाडौं–क्वालालाम्पुर–काठमाडौं उडानमा सहभागी एउटी एअर होस्टेसलाई दुर्व्यवहार गरेको लिखित उजुरी परेको थियो ।

उडान नम्बर ४१६ का चालकले एअरहोस्टेसमाथि गैरव्यावसायिक व्यवहार गरेको भन्दै सम्बन्धित कर्मचारीले उजुर गरेको र छानबिनबाट पाइलटहरुको गल्ती देखिन आएको प्राधिकरणको भनाइ छ । त्यस दिनको उडानमा रहेका चालक दलका सबै सदस्यलाई प्राधिकरणले तत्काल उडानमा रोक लगाएको छ । तर प्राधिकरणले चालक दलको नाम भने सार्वजनिक गरेको छैन ।

त्यस दिन जहाज उडाउने पालो क्याप्टेन अरबिन्दराज पहाडी र लालबाबु थकालीको थियो । काठमाडौंबाट उड्नुअघि विमान परिचारिकाले आफूमाथि दुर्व्यवहार भएको उल्लेख गर्दै क्वालालम्पुरबाट फर्केपछि उजुर गरेकी थिइन् ।

उक्त उडानमा रहेका चालक दलका एक जना सदस्यले भने, ‘महिलामाथि हातपात गरेको चाँही होइन । कुनै गम्भीर प्रकृतिको दुर्व्यवहार पनि भएको होइन । विमानमा पुगेपछि चालक र सहचालकले सम्बन्धित महिला परिचारिकालाई आफ्नोे उडानमा सहभागी नहुनसम्म भनेका चाहिँ हुन् ।’ 

पाइलटको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘हामी तँसँग उड्दैनौं । तर त्यसो भने पनि दुबै जनाले महिला परिचारिकालाई सोही उडानमा अरु सदस्यसँगै उडाएका थिए । उताबाट फर्केपछि ती परिचारिकाले लिखित उजुरी हालिन् । पाइलटहरुको त्यो वचनलाई एक किसिमको दुर्व्यवहार प्रमाणित गरिएपछि अहिले उडानमा रोक लगाइएको हो ।’


 

टिप्पणीहरू