सिंहदरबारभित्र भ्रष्टको सल्बलाहट

सिंहदरबारभित्र भ्रष्टको सल्बलाहट

एउटा भ्रष्ट प्रशासकलाई बदनाम व्यापारी र ठेकेदारहरूले बोकेर कसरी ठाउँ–ठाउँमा फिट गराउँछन् र आफूअनुकूल निर्णय गराउँछन् ? खोज्न टाढा कतै जानु पर्दैन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतिर हेरे पुग्छ । 

हरेक कुरामा क्रमभंग गर्न माहिर प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा सहसचिव तहका कर्मचारीलाई ल्याएर फिट गराउनुभएको छ । यसअघि प्रधानमन्त्रीका निजी सचिवका रूपमा उपसचिव तहका कर्मचारी खटाइँदै आएकोमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएसँगै पुस २० गते सहसचिव नवराज ढुंगनालाई आफ्नो निजी सचिवमा नियुक्त गर्नुभएको हो । ढुंगानामाथि अख्तियारमा मुद्दा विचाराधीन त छँदै छ, उनको विशेष कनेक्सन एक जना मेडिकल माफियासँग रहेको र उनकै नेक्ससमा प्रधानमन्त्री प्रचण्डको निजी सचिवको रूपमा खटिने अवसर पाएको अहिले सिंहदरबारकै कर्मचारीहरूबीच चर्चा चल्न थालेको छ । 

मेडिकल माफिया विशाल पण्डितलाई नवराज ढुंगानालाई नबोकी नहुने बाध्यताचाहिँ सिंहदरबारै सम्मुखको ११ तले होटल बसेरा हो भन्ने गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएअनुसार यो होटलका लागि सिंहदरबारलाई समेत सुरक्षा चुनौती छ । गुप्तचर निकायदेखि जिल्ला प्रशासन कार्यालय र सिंहदरबारका लागि समेत सुरक्षा थ्रेट रहेका कारण सो भवन भत्काइनुपर्ने वा सरकारीकरण गर्नुपर्ने प्रतिवेदन अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को घर्रामा थन्किएको छ । इमिरो प्लाजा प्रालिका नाममा काठमाडौं महानगरपालिका–११ को कित्ता नम्बर २१७५ मा निर्माण भएको बेसमेन्टसहित ११ तले फाइभ स्टार बसेरा बुटिक ठड्याइँदा आईईई समेत नगरिएको, काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंबाट प्लाजाले भवन निर्माण योजना अनुमति नलिएको, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत उक्त होटल भत्काउन निर्देशन दिइसकेको अवस्था छ । यो होटल भत्काउने, सरकारीकरण गर्ने सम्पूर्ण जिम्मेवारी राष्ट्रिय सुरक्षा समितिसँग रहने कर्मचारीले जनाएका छन् ।

नेपालको संविधानको भाग–२८ को धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद्सम्बन्धी गरेको व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार परिषद्को अध्यक्षमा प्रधानमन्त्री, रक्षा, गृह, परराष्ट्र, अर्थमन्त्रीका अलावा मुख्यसचिव, प्रधानसेनापति– सदस्य र रक्षासचिव – सदस्य–सचिव रहन्छन् । होटल नै भत्किने वा होटल सरकारीकरण हुने भयका कारण सोबाट बच्नका लागि विशाल पण्डितले आफ्नो पकेटमा सहसचिव नवराज ढुंगानालाई त्यहाँ लगेर फिट गराएको चर्चा सिंहदरबारमा सुन्न थालिएको छ । उसो त नवराजका कारण अहिले सिआइबीका अधिकारीहरू नै हैरान छन् । सिआइबीले हरेक दिन प्रधानमन्त्री कार्यालयलाई रिपोर्ट गर्दै आएका छन् । बन्द खाममा प्रधानमन्त्रीसमक्ष गरिएको रिपोर्ट नवराजहरूले खोल्ने गरेको गुनासो प्रधानमन्त्रीसमक्ष समेत पुगिसकेको छ । 

ढुंगाना जागिरे जीवनभर मालदार अड्डा छाडेर अन्यत्र जानुपरेको छैन । विमानस्थलस्थित अध्यागमन कार्यालय तथा वैदेशिक रोजगार विभाग हुँदै महालेखा नियन्त्रक कार्यालयको प्रशासन महाशाखाको हर्ताकर्ता हुँदा लेखाका कर्मचारी सरुवामा लाखाैँ असुलेको आरोप लेखाकै कर्मचारीहरूले लगाउँदै छन् । गोरखा नगरपालिका, तत्कालीन पोखरा उपमहानगरपालिका र रत्ननगर नगरपालिकामा प्रशासकीय अधिकृत हुँदै केही समय वन मन्त्रालयमा समेत काम गरिसकेका छन् । उनीमाथि जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा खाएको, पोखरा उपमहानगरमा पनि सडक दस्तुर ठेक्का लगाउँदा धरौटीबापत राखेको कास्कीको फुकुवा गर्नै नमिल्ने जग्गा ठेकेदारले फुकुवा गरी तनहुँको कमसल जग्गा धरौटीमा राखेका उजुरी अख्तियारमा परेपछि छानबिन अघि बढाइएको थियो । तर, रकमको चलखेल गरी उजुरी तामेलीमा राख्न लगाइएको कर्मचारीहरू सुनाउँछन् ।
 

टिप्पणीहरू