नेपाली सेनाको ‘डाटा’ टर्की पुग्ने गरेको डा. आरजूको खुलासा
नेपाली काँग्रेसकी नेतृ तथा काँग्रेस सभापति एवम् भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजू राणा देउवाले नेपाली सेनाका अधिकांश विवरण (डाटा) टर्की पुग्ने गरेको दाबी गर्नुभएको छ । उहाँले सेनाको डिजिटल अभिलेखमा कमजोरी रहेकाले उसका विवरण र तथ्याङ्कहरू टर्की पुग्ने गरेको जानकारी आफूले पाएको बताउनुभएको हो ।
ललितपुरको पुल्चोकस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघद्वारा आयोजित ‘अल नेपाल ह्याकथन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले उक्त रहस्योद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि राणाले भन्नुभयो, ‘साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी छ ।’
पछिल्लो समय सरकारी कार्यालयका वेवसाइटहरु नियमित रुपमा ‘ह्याक’ हुने गरेकाले साइबर सुरक्षाका लागि आफ्नै खालको समाधान खोज्नुपर्ने उहाँको सुझाव छ ।
सेनाको डाटा टर्कीमा उपलब्ध हुनु मामिला गम्भीर रहेको उल्लेख गर्दै तत्काल त्यसको समाधान गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले यसलाई गम्भीरतापूर्वक नलिए सरकारी गोप्य सूचनाहरु अन्य मुलुकमा सहजै पुग्ने खतरातर्फ सतर्क रहन उहाँले सम्बन्धित सबैलाई सचेत गराउनुभएको छ ।
टिप्पणीहरू