अरुले जे सुकै गरुन्, हामी सरकार छोड्दैनौं : सिके राउत

सत्तारुढ दल जनमत पार्टी सरकारबाट नबाहिरिने भएको छ । आज काठमाडौँमा आयोजित पार्टी निकट विद्यार्थी संघको कार्यक्रममा अध्यक्ष सिके राउतले सरकार छोड्नुपर्ने कुनै कारण र परिस्थिति नरहेको प्रष्ट पारेका छन् । 

एमाले, राप्रपातर्फ संकेत गर्दै उनले अन्य पार्टीहरु आफ्नो माग पूरा नभएकाले सरकारबाट बाहिरिए पनि आफूहरुका लागि त्यस्तो कुनै कारण र परिस्थिति नरहेको उनले बताए । ‘अहिले त्यस्तो कुनै परिस्थिति भएको छैन कि सरकार बाहिर आउनु परोस् ।  सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको । अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बाहिरिएको हो’, राउतले भने । 

समर्थन गर्ने दलहरु फेरिए पनि माओवादीकै नेतृत्वमा सरकारले निरन्तरता पाइरहेकाले जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको उनको भनाइ छ । ‘योभन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त ?’, राउतले भने, ‘दलहरु फेरिए तर सरकार फेरिएको छैन । हामी त्यही भएर सरकारमा यथावत छौँ ।’

गत पुस १० गते जनमत समेतको समर्थनमा सरकार गठन भएको थियो । तर, त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका एमाले, राप्रपा सरकारबाट बाहिरिँदा जनमत भने पुरानै निर्णयमा छ । पछिल्लो समय सत्ता समीकरण बदलिएको अवस्थामा पनि सो पार्टी प्रधानमन्त्री नेतृत्वको गठबन्धनमा कायम छ । 

राष्ट्रपतिमा स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्तिका रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको अध्यक्ष राउतको भनाइ छ ।

टिप्पणीहरू