नेपाली सेनालाई सूचीकारदेखि केशकर्तकसम्मका कर्मचारी चाहियो

नेपाली सेनालाई सूचीकारदेखि केशकर्तकसम्मका कर्मचारी चाहियो

नेपाली सेनाले तल्लो दर्जाका विभिन्न पदमा भर्ना खुलाएको छ । भर्ना छनौट निर्देशनालयअन्तर्गत कार्यरथी विभागले आज निकालेको सूचनामा खुला तथा समावेशीतर्फ बन्दोबस्ती कार्य सिपाही, सूचीकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको जानकारी गराएको छ । 

सेनाले विभिन्न पृतनाबाट आवेदन दिन मिल्नेगरी भर्ना खुलाएको छ । तीमध्ये मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि आवेदन खुलेको छ । सिपाहीमा खुला र आरक्षणतर्फ गरी २३ जनाको माग गरिएको छ । 

त्यस्तै, मध्यपूर्वी पृतना महोत्तरीबाट ५२ जनाका लागि आवेदन आह्वान गरिएको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग गरिएको छ भने सफाइकर्मीमा ८ जना मागिएको छ ।

मध्य पृतना हेटौँडाबाट ५२ जनाको माग गरिएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जना चाहिएको सूचनामा उल्लेख छ । पश्चिम पृतना पोखराबाट ५४ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जना र बाँकी अरु पदका लागि भनिएको छ । 

५४ जनाको माग भएको बुटवल पृतना कार्यालयबाट बन्दोबस्त कार्य सिपाहीमा २३ र बाँकी अन्यका लागि दरखास्त दिन सकिनेछ । उत्तरपश्चिम पृतना कार्यालय सुर्खेतबाट ५४ जनाको माग हुँदा सुदूरपश्चिम पृतना कैलालीबाट ५३ जनाका लागि दरखास्त मागिएको छ । त्यस्तै, उपत्यका पृतना कार्यालयबाट ५३ जनाको माग गरिएको नेपाली सेनाले जनाएको छ । 

१८ वर्ष पूरा भई २६ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकलाई आगामी चैत १९ गतेसम्म आवेदन दिन सेनाले सूचना गरेको छ । उक्त समयावधि भित्र फाराम नभर्नेहरुले दोब्बर दस्तुर तिरेर चैत २६ गतेसम्म आवेदन दिन सक्ने पनि बताइएको छ । 

सेनाले ती पदमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने र दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रमा बुझाउनुपर्ने जनाएको छ ।

टिप्पणीहरू