गणतन्त्रविरुद्धको आन्दोलनमा राजतन्त्र मूर्दावादको नारा

गणतन्त्रविरुद्धको आन्दोलनमा राजतन्त्र मूर्दावादको नारा

पूर्वएमाले नेता तथा विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईको ‘राष्ट्र बचाउ अभियान’ले गणतन्त्रविरुद्ध आयोजना गरेको विरोध प्रदर्शनमा 'राजतन्त्र मूर्दावाद' को नारा लागेको छ । बानेश्वरको संसद भवनअगाडि आज भएको उक्त प्रदर्शनका केही सहभागीले नारावाजी गर्नेक्रममा ‘राजतन्त्र मूर्दावाद’ भनेका हुन् ।

प्रदर्शनकारीले 'राजतन्त्र मूर्दावाद', 'गणतन्त्र मूर्दावाद' भन्दै नारा लगाएका थिए । राजतन्त्र फर्काउने अभियानअन्तर्गत आयोजित प्रदर्शनमा यस्तो नारा लागेपछि प्रदर्शनकारी एकछिन अलमलमा परेका थिए । 

प्रदर्शनमा बिभिन्न संघ र संस्थाले सहभागिता जनाएको आयोजकले बताएको छ । राष्ट्रिय झन्डासहित भेला भएका प्रदर्शनकारीमा प्रसाईलगायत बक्ताहरुले सम्बोधन गरेका छन् ।  

प्रसाईँले हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्य हुनुपर्ने लगायतका एजेण्डा राखेर आन्दोलन सुरु गरेका हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई मञ्चमा राखेर झापाबाट सुरु भएको आन्दोलन भैरहवालगायतका देशका बिभिन्न ठाउँमा सम्पन्नगरी काठमाडौं आईपुगेको हो । 

केही महिना अघिसम्म कट्टर गणतन्त्रको पक्षधर रहेका प्रसाईं हालैमात्र राजतन्त्र फर्काउने अभियान लागेका हुन् । 'राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा  नागरिक बचाउ अभियन'को आफैँ संयोजक बनेका उनले अघिल्लो हप्ता पूर्वराजा ज्ञानेन्द्र र उनका परिवारका सदस्यलाई मेची पुलमा भेला गरेर महाभियानको औपचारिक सुरुआत गरेका थिए । 

तर, पूर्वपञ्चहरुको पार्टी राप्रपासहित विभिन्न राजावादी समूहहरुले भने प्रसाईंप्रति आशंका व्यक्त गरिरहेका छन् । बैंकबाट अरबौँ ऋण लिएर त्यसको साँवा, ब्याज नतिरेका उनले त्यसबाट उन्मुक्ति पाउन पूर्वराजालाई प्रयोग गरेको उनीहरुको आशंका छ ।

 

टिप्पणीहरू