प्रचण्डविरुद्धको रिट वाक स्वतन्त्रताको मर्म प्रतिकूल : माओवादी
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशप्रति आपत्ति जनाएको छ ।
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आज विज्ञप्ति जारी गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासबाट भएको उक्त आदेशप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । संविधान प्रदत्त वाक स्वतन्त्रताको उपभोगगरी कुनै सार्वजनिक कार्यक्रमहरुमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले ब्याख्या गरेर कारबाहीको विषय बनाउन खोज्नु गलत हुने उनको तर्क छ ।
‘पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान प्रदत्त वाक स्वतन्त्रताको उपभोगगरी अमुक सार्वजनिक कार्यक्रमहरुमा व्यक्त विचारलाई अतिशयोक्तिपूर्ण ढंगले व्याख्या र तर्क गरी ती अभिव्यक्तिलाई कारबाहीको विषय बनाउनु पर्छ भनी कलुषित पूर्वग्राही भावनाले ग्रसित भई दायर भएको रिट निवेदन न्यायिक पुनरावलोकनको सामान्य सिद्धान्तविपरीत र वर्तमान नेपालको संविधानले प्रदान गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता ठाडै प्रतिकूल भएको सम्बद्ध निकायहरुलाई अवगत गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
महासचिव गुरुङले विस्तृत शान्ति सम्झौताविपरीतको रिट दर्तामा प्रतिगमनकारी प्रवृत्तिहरु सलबलाएको भन्दै १२ बुदेँ समझदारी, शान्ति प्रक्रिया पक्षधर राजनीतिक दल र अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।
टिप्पणीहरू