लघुवित्त र मीटरब्याजीलाई सरकारले जोगाएको विप्लवको आरोप
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पूँजीपतिवर्ग र विभिन्न नामका शोषक र त्यस्ता संस्थाहरुविरुद्ध न्यायपूर्ण संघर्षमा निरन्तर अगाडि बढ्न पीडितहरुलाई आह्वान गरेको छ ।
जनताको न्यायपूर्ण संघर्षको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै नेकपाले लघुवित्त र मीटरब्याजीको मनपरीविरुद्ध संघर्षरत नागरिकमाथि राज्यले गरेको दमनको विरोध गरेको छ । आज विज्ञप्ति जारी गर्दै नेकपाले लघुवित्त, मीटरब्याज र चर्को बैंक ब्याजले लाखौं जनताको जीवन प्रताडित बनेको बताएको छ ।
‘देशमा लघुवित्त, मीटरब्याज र चर्को बैंक ब्याजले लाखौं जनताको जीवन प्रताडित छ । यिनीहरुको आतंक र दमन झेल्न नसकेर सयौं नागरिकले ज्यान गुमाइसकेका छन्’, भनिएको छ, ‘हजारौं नागरिक सडकमा पुगेका छन् भने लाखौं असीमित पीडामा छट्पटाइरहेका छन् । कुनै उपाय नभएपछि केही समयदेखि ऋण पीडित नागरिकहरु संघर्षमा उत्रिएका छन् ।’
सरकारले उनीहरुको समस्या समाधान गर्नुको साटो लघुवित्त र चक्रब्याजीलाई रक्षा गर्न प्रशासन र प्रहरी परिचालन गरेको नेकपाको आरोप छ । आम नागरिकमाथि दमनका लागि प्रशासन र प्रहरी परिचालन गर्ने कार्य जनविरोधी र असह्य भएको उसको ठहर छ ।
जायज आवाजलाई समर्थन गर्दा पक्राउ परेका जाजरकोटका जिल्ला इञ्चार्ज पौरख सी, जिल्ला सेक्रेटरी निराजन सीलगायत पाँच जनालाई तत्काल रिहा गर्न माग गरिएको छ । उनीहरुलाई लुटपाटको झुठ्ठा मुद्दा लगाउन खोजिएको कार्यप्रति विप्लव माओवादीले आपत्ति जनाएको छ ।
‘पार्टी देशैभरी भइरहेको दमन बन्द गर्न तथा गिरफ्तार कमरेडहरुलाई यथाशीघ्र मुक्त गर्न माग गर्दछ । अन्यथा संघर्षको जिम्मा लघुवित्त र राज्यले लिनुपर्ने छ’, विज्ञप्तिमा उल्लेख छ । सरकारले भने ७७ वटै जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाको सुरक्षाको प्रबन्ध मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
टिप्पणीहरू