राजा फर्काउन 'मार्सी' को टोली माइतीघरमा

राजा फर्काउन 'मार्सी' को टोली माइतीघरमा

मेडिकल बिचौलियाका रुपमा चर्चित दुर्गा प्रसाईं ‘मार्सी’ नेतृत्वको 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान'ले आज पनि काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

राजतन्त्र पुनर्स्थापनाको अभियान लिएर देशव्यापी आन्दोलन घोषणा गरेको मार्सीको टोलीले आज बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । ‘राजसंस्था पूर्ण स्थापना र गणतन्त्र खारेजी' को मागसहित महाअभियानकी प्रवक्ता रमा सिंहको नेतृत्वमा भएको प्रदर्शनमा राजावादी संघसंस्था र व्यक्तिहरुको उपस्थिति थियो । 

त्यसक्रममा 'संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा' की प्रवक्ता सिर्जना वाग्ले, सन्तोष राजावादी, राजावादी वकिल भनेर चिनिने विष्णु भट्टराईलगायत करिब पाँच दर्जन प्रदर्शनकारीले विद्यमान राज्य व्यवस्थाका विरुद्ध चर्को नारावाजी गरे । उनीहरुले ‘संघीयता खारेज गरौँ,’ ‘धर्म संस्कृतिको संरक्षण गरौँ,’ ‘वैदिक सनातन हिन्दु धर्म कायम गरौँ,’ ‘बैंक तथा वित्तीय संस्थाको ज्यादती बन्द गरौं,’ ‘राष्ट्रपति धोका हो’ लगायत लेखिएका प्लेकार्ड देखाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुदैँ देशका विभिन्न शहरमा प्रर्दशन गरिसकेको छ ।
 

टिप्पणीहरू