पशुपतिको सरसफाईमा मन्त्रालयका कर्मचारी अनिवार्य, अरुलाई स्वेच्छिक

पशुपतिको सरसफाईमा मन्त्रालयका कर्मचारी अनिवार्य, अरुलाई स्वेच्छिक

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भोलिदेखि पशुपति क्षेत्र परिसरमा सरसफाई अभियान थाल्ने भएको छ । पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको प्रमुख आकर्षकस्थल बनाउने उद्देश्यका साथ मातहतका सबै निकायका कर्मचारीको सहभागितामा हरेक शनिबार सरसफाइ अभियान सञ्चालन गर्न मन्त्रालय आफैं अघि सरेको हो ।

मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले अभियानमा सहभागी हुन कर्मचारीसहित संस्कृतिप्रेमी, अभियन्ता, नागरिक समाज, सञ्चारकर्मी र आमनागरिकलाई अपिल गरिएको बताएका छन् । अभियान हरेक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म आगामी तीन महिनाका लागि चलाइने आज जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सामूहिक रुपमा सहकार्य गर्दै नियमित एवम् व्यवस्थित सरसफाई गरी पशुपति क्षेत्रलाई प्रमुख आकर्षकस्थल बनाउन योजनाबद्ध सरसफाई अभियानको लागि भोलि शनिबारदेखि प्रत्येक शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म बृहत सरसफाई कार्यक्रम आयोजना गरी तीन महिने सरसफाई अभियान सञ्चालन गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू