रक्सीले मातेर सडकमा बर्दी फुकाल्ने प्रहरी जवानमाथि कारवाही
दिउँसै रक्सी खाएर सडकमा हंगामा मच्चाउने नेपाल प्रहरीका सिपाही सन्जिवकुमार राय निलम्बनमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत उनले अस्ति शुक्रबार दिउँसो रक्सी खाएर महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसअगाडि सवारी चेकजाँच गरेका थिए । सोही क्रममा उनले गलत हर्कत देखाउन थालेपछि स्थानीयले प्रतिवाद गरे । त्यसपछि सिपाही राय अर्धनग्न भएर गालीगलौजमा उत्रिए ।
त्यसको भिडियो सामाजिक सञ्जालमा समेत छताछुल्ल भएपछि उनी विभागीय कारवाहीमा परेका हुन् । रायलाई निलम्बन गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेशकुमार सिंहले बताए ।
उनका अनुसार प्रहरी जवान रायसँगै अन्य व्यक्तिले समेत त्यस बेला होहल्ला गरेर सडकमा तमासा देखाएका थिए । त्यसैले घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रवक्ता सिंहले जानकारी दिए ।
टिप्पणीहरू