जात छुट्याएर भोज खुवाउने जनप्रतिनिधि र खाने एमाले नेतामाथि होला त कारवाही ?

जात छुट्याएर भोज खुवाउने जनप्रतिनिधि र खाने एमाले नेतामाथि होला त कारवाही ?

आमाको १३ औं दिन! पुण्यतिथिमा जात छुट्याएर अलग–अलग भोज खुवाउने सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न विभिन्न दलित संघ संगठनले सरकारसँग माग गरेका छन् ।  

समाजवादी दलित मुक्ति संगठन मधेश प्रदेश समिति,नेपाल दलित मुक्ति मोर्चा,संयुक्त दलित संघर्ष समिति,राष्ट्रिय दलित पत्रकार संघ, नेपाल राष्ट्रिय मुसहर संघलगायतका संघसंस्थाले जिल्ला प्रशासन कार्यालय धनुषामार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै यादवमाथि कारवाहीको माग राखेका हुन् ।

ज्ञापनपत्रमा अध्यक्ष यादवले अक्षम्य अपराध गरेको भन्दै उनलाई निलम्बन गरी जातीय विभेद एवं छुवाछुत कसूर सजाय ऐन, २०६८ बमोजिम हदैसम्मको कारबाही गर्न माग गरिएको छ । 

‘नेपालको संविधानलाई टेकेर गाउँपालिका अध्यक्षजस्तो गरिमामय एवं संवेदनशील जिम्मेवारीमा रहेका व्यक्तिले जातीय विभेद तथा छुवाछुत गर्नु भनेको कानूनी अपराध गरी देशको संविधानलाई खिल्ली पनि उडाउनु हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘तसर्थ यस घटनाका दोषी उग्रनारायण यादवले अक्षम्य अपराध गरेको हुनाले निजलाई कानूनी दायरामा ल्याई सम्पूर्ण सार्वजनिक पदबाट निलम्बित गरी जातीय विभेद एंव छुवाछुत कसूर सजाय ऐन, २०६८ बमोजिम हदैसम्मको कारबाही गर्न गृह प्रशासन एवं नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।’

गत सोमबार आयोजित कार्यक्रममा यादवले दलित र गैरदलितको निम्ति अलग–अलग ब्यानर टाँसेर भोज खुवाएका थिए । त्यसप्रति राष्ट्रिय दलित आयोगलगायत सरोकारवाला विभिन्न संघसंस्थाले आपत्ति जनाएका छन् । उग्रनारायणको हर्कतविरुद्ध मधेसका केही स्थानमा प्रदर्शनसमेत भएको छ ।  

जात छुट्याएर भोज खुवाउने उग्रनारायण एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । उक्त भोजमा पूर्वकानुनमन्त्री समेत रहेका एमाले सांसद लीलानाथ श्रेष्ठ पनि सहभागी थिए । 

श्रेष्ठ सहभागी भोजमा उनको कार्यकर्तासमेत रहेका गाउँपालिका अध्यक्षले जातीय छुवाछुतजन्य व्यवहार गरेका कारण पूर्वमन्त्री श्रेष्ठलाई पनि कारवाही गर्न दलित अधिकारकर्मीहरुले माग गरेका छन् ।

टिप्पणीहरू